बाजुरा ।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये निर्वाचन हुन बाँकी बूढीगंगा नगरपालिकामा आज बिहीबार बिहानदेखि पुनः निर्वाचन हुँदै छ । कुनै खुन खाँचो नभए बिहीबार हुने निर्वाचनमा बूढीगंगा नगरपालिकाका १२ हजार ६ सय ५९ मतदाताले मतदान गर्न पाउनेछन् । बूढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्र रहेका छन् ।
निर्वाचनलाई मर्यादितरूपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिनुुभयो । अधिकृत घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न आवश्यकताअनुसार सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ । निर्वाचन गराउन ९५ कर्मचारी खटाइएको छ ।
मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मुख्य निर्वाचन अधिकृत घिमिरेको अध्यक्षतामा सर्वदलीय बैठक बसी निर्वाचनलाई निष्पक्ष बनाउनेमा कांग्रेस, एमालेलगायतका केन्द्रीय स्तरका नेताहरूले साझा प्रतिबद्धता जाहेर गरेका छन् ।
प्रतिबद्धता जाहेर गर्नेमा नेकपा एमालेका कर्णबहादुर थापा, नेपाली कांग्रेसका बद्री पाण्डे, सांसद लालबहादुर थापालगायत जिल्लास्थित नेताहरूको सहभागिता रहेको थियो ।
विगतका तिक्तता त्यागेर स्वतन्त्र, निष्पक्ष भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन दलका नेताले लिखित सहमति गरेको मुख्य निर्वान अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रमुख निर्वाचन अधिकृत घिमिरेले नेपाल समाचारपत्रसँग भन्नुुभयो– ‘गाउँगाउँमा सुरक्षाकर्मी तैनाथ छन् । मतदान केन्द्रको पहिलो घरेमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना हुन्छन् मतदातालाई असुरक्षाको महसुस गर्नै दिन्नौं ।’
बूढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण कठायतले नेपाल समाचारपत्रसँग भन्नुुभयो– बिहीबार बिहान सात बजेदेखि शुरू हुने मतदानका लागि आवश्यक सामग्री तथा जनशक्ति मतदान स्थलमा पुगिसकेको र सुरक्षाको पनि भरपर्दो व्यवस्था मिलाएका छौं ।’‘असक्तको परिचयपत्रको आधारमा एकाघर परिवारको सदस्य वा मतदान अधिकृतले मतदान गरीदिन सक्ने तर, नेपाल सरकारबाट अशक्तताको परिचयपत्र अनिवार्य कायम गरेको हुनुपर्नेछ ।
सर्वदलीय बैठकबाट पनि आफ्नो मत आफैं खसाउने सहमति भएको छ । यसपालि कुनै किसिमको धाँधली हुन दिँदैनौं’ –अधिकृत कठायतले भन्नुभयो ।धुरालसैन मतदान केन्द्रका मतदान अधिकृत ललितकुमार मण्डलले निर्वाचनका लागि पूर्वतयारी सपन्न भइसकेको तथा दलहरूबाट पनि सकरात्मक सहयोग भएको बताउनुभयो ।नेताहरूले प्रतिबद्धता जाहेर गरेसँगै जिल्ला तथा केन्द्रस्तरका नेता कार्यकर्ताहरू यति बेला बूढीगंगामा केन्द्रित छन् । निर्वाचनमा हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहेको यस पालिकामा हरेक मतदानस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहने सुरक्षा निकायले जनाएको छ ।
दशवटै मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका छन् । मंगलबारदेखि उनीहरूले संयुक्त रूपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्तीसमेत शुरू गरेको स्थानीयले बताए ।
स्वतन्त्र र निष्पक्ष गर्न निर्वाचन कार्यमा सघाउन भन्दै बूढीगंगाका सबै विद्यालय बन्द गरिएको शिक्षक मेखराज जैशीले बताउनुुभयो । निर्वाचनकै लागि तीन दिनसम्म बूढीगंगा नगरपालिकाले पनि बिदा दिएको बताइएको छ ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बूढीगंगा नगरपालिकामा व्यापक धाँधली भएको थियो । निर्वाचनमा सर्वसाधारणले मतदान गर्न नपाएको भन्दै पुनः निर्वाचन गरिपाऊँ भन्दै पुनरावेदन अदालत दिपायलमा र निर्वाचन आयोगमा रिट निवेदन परेको थियो ।











प्रतिक्रिया