गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ ।

सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्याको गणना गर्न माग गर्नुभएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाई सङ्ख्या यकिन गर्न निर्देशन दिए ।

तीन मिनेटसम्म घण्टी बजाई सङ्ख्या यकिन गर्दा कुनै पनि प्रस्ताव पारित हुनका लागि सांसदको कूल उपस्थिति सङ्ख्या एक चौथाइअर्थात् ६९ हुनुपर्नेमा ६७ मात्रै रह्यो ।

यसअघि पनि त्यस्तै अवस्था आएकाले सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका थिए । तेस्रो पटक पनि गणपूरक सङ्ख्या नपुगेपछि सभामुख सापकोटाले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी दिए ।

त्यसअघि बैठकले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई पारित गरेको थियो । गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २३ गते दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्