पशुहरूको कृत्रिम गर्भाधान गराउनेको संख्या बढ्दो

0
Shares

लमजुङ । पछिल्ला केही वर्षमा पशुहरूमा कृत्रिम गर्भाधान गराउनेको संख्या बढेको पाइएको छ । पशु व्यवसायमा राम्रो उन्नति गर्न पशुको कृत्रिम गर्भाधान (एआई) गर्ने व्यवस्था भएसँगै कृषकहरू त्यसतर्फ आकर्षित भएका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा जिल्लामा १ हजार ७ सय ८ पशुमा कृतिम गर्भधान गरिएको छ ।

गत साउनदेखि चैतसम्मको अवधिमा सबैभन्दा बढी ८ सय ७७ भैसीमा कृत्रिम गर्भाधान भएको प्रमुख डा. श्रेष्ठले बताए । यसैगरी ८ सय १६ गाई र १५ वटा बाख्रामा कृत्रिम गर्भाधान गरिएको हो ।

कृतिम गर्भाधान सेवा लिनेमध्ये ५३ पशुमा भेटेरिनरी अस्पताललबाट गर्भाधान सेवा दिइएको श्रेष्ठको भनाइ छ । सो बाहेक १ हजार ६ सय ५५ पशुमा जिल्लाका सम्वन्धित स्थानीय तथा विभिन्न स्थानबाट कृत्रिम गर्भधान गरिएकाे छ ।

आर्थिक वर्ष ०७७/७८ मा मात्रै जिल्लामा दुईहजार १ सय ७ पशुमा कृतिम गर्भधान भएको थियो । गत आर्थिक वर्षमा एकहजार ४३ गाई, एकहजार ३२ भैसी र ३२ वटा बाख्रामा कृत्रिम गर्भधान भएको कार्यालयले जनाएको छ ।

जिल्लामा पशु कृत्रिम गर्भधान सेवाका लागि पाँचवटा केन्द्र रहेका छन् । उक्त सेवा प्रवाहका लागि १६ जना तालिम प्राप्त प्राविधिक जनशक्ती रहेको केन्द्र प्रमूख श्रेष्ठको भनाइ छ । जिल्लाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ मा मात्रै जिल्लामा दुईहजार दुईसय ८१ पशुमा कृत्रिम गर्भाधान भएको थियो ।

अघिल्लो वर्षहरुको तथ्यांकलाई हेर्ने हो भने जिल्लाबाट प्रवाह भएको कृतिम गर्भधान सेवा भैसीमा भन्दा गाईमा बढी प्रभावकारी देखिएको छ । कार्यालयका अनुसार गाईमा ५३ दशमलव ३ प्रतिशत प्रभावकारी देखिएको छ भने भैसीमा ४६ दशमलव ६ प्रतिशत प्रभावकारी देखिएको कार्यालय प्रमूख श्रेष्ठले बताए ।

पशुको कृत्रिम गर्भाधान सेवालाई गाउँ–गाउँसम्म पु¥याइएपछि जिल्लाका किसानहरू लाभान्वित बनेका छन् । आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसान कृत्रिम गर्भाधान प्रक्रियामा आकर्षित भएको जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ ।

जिल्लामा २०६५ सालदेखि पशुमा कृत्रिम गर्भधान सेवा शुरु भएको हो । कोरोना महामारीको समयमा पशुमा कृत्रिम गर्भाधान कार्यक्रम केही प्रभावित पछिल्लो समयमा पशु कृत्रिम गर्भाधान गराउने किसानहरूको सख्या वढ्दै भएको छ ।

कृत्रिम गर्भाधान गर्दा स्थानीय पशुमा दूध बढ्ने र जन्माएको पाडा–पाडी वा बाच्छा–बाच्छी उन्नत जातका हुने, थोरै वीर्यबाट धेरै पशुलाई प्रजनन् गराउन सकिने, पशुमा लाग्ने सरुवा रोगबाट बच्न सकिने जस्ता फाइदा हुने भएपछि पशुको कृत्रिम गर्भाधान गर्नेको संख्यामा वृद्धि भएको पशु सेवा विज्ञ केन्द्रको भनाइ छ ।

Skip This