मृगेन्द्रकुमारको नियुक्ति खारेज गर्न सर्वोच्चमा रिट दायर



काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बनाएको भन्दै उहाँको नियुक्ति खारेज गर्न सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरिएको छ ।

संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै अधिवक्ता अनुपम भट्टराईले यादवविरुद्ध रिट दायर गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जनता समाजवादी पार्टीका तीन जनालाई मन्त्री नियुक्त गर्नुभएकोमा यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ ।

यादव तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनी पराजित हुनुभएको थियो । प्रतिनिधि सभामा पराजित भए पनि यादवलाई पछि राष्ट्रिय सभा सदस्यमा चुनिएको थियो ।सो रिट निवेदन रुजु भइसकेको र समय अभावका कारण मंगलबार रसिद काट्न नभ्याइएको अदालत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्