काठ बिक्री गर्नु पहिले नै उपभोक्ता ठगी, पेस्की रकम कर्मचारीको खल्तीमा, वन कार्यालय मौन !



रौतहट । वन पैदावर आपूर्ति समिति चन्द्रनिगाहपुरले काठ–दाउरा बिक्री गर्नु पहिले नै उपभोक्तासँग पेस्की रकम लिने गरेको छ ।

डिभिजन वन कार्यालय रौतहटअन्तर्गत रहेको वन पैदावर आपूर्ति समितिले घरकाज, विकास निर्माण र दैवी प्रकोपको लागि उपभोक्तालाई काठ दाउरा–बिक्री गर्दै आएको छ ।

काठ–दाउरा आवश्यक पर्ने उपभोक्ताको लगत संकलन, स्थलगत अनुगमन र निरीक्षण गरेर बिक्री वितरण गर्नुको साटो वन पैदावर आपूर्ति समितिका कर्मचारीहरूले व्यक्तिगत लाभका लागि बिक्री गर्दै आएको स्थानीयको आरोप छ ।

ईशनाथ नगरपालिका–१ वञ्जराहाका विगन राउतलाई काठ–दाउरा बिक्री गर्ने भन्दै वन कर्मचारीले पहिले नै पेस्की बापत १५ हजार रुपियाँ लिएको पाइएको छ ।

‘कर्मचारीहरूले उपभोक्तासँग पेस्की रकम लिएको हो ?’ भन्ने नेपाल समाचारपत्रको प्रश्नमा सतितिका अधिकृत विमल ठाकुर भन्छन्, ‘उहाँहरूले पेस्की रकम लिएको हो वा होइन सो सम्बन्धमा मलाई जानकारी छैन, यस विषयमा म कर्मचारीसँग बुझेर सत्य–तथ्य के हो जानकारी गराउँछु ।’

काठ–दाउरा विक्री गर्ने निर्णय भने वन पैदावर आपूर्ति समितिले गरेको छैन । तर, समितिमा कार्यरत कर्मचारीले काठ–दाउरा दिने भन्दै पहिले नै पेस्की रकम लिएका हुन् ।

डिभिजन वन अधिकृत सुमन कर्णले पेस्की रकम लिएको आफूलाई पनि जानकारी नभएको बताए । ‘यद्यपि उहाँहरूले त्यसो गरेको हो भने कानुनबमोजिम कारबाही हुन्छ, कर्णले भने ।’

काठ–दाउरा बिक्री गर्ने क्रममा वन पैदावर आपुर्ती समिति विगतका वर्षदेखि नै विवादमा मुछिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्