विपद्का घटनामा परी ज्यान गुमाउने बढे



काठमाडौं  । 

विपद्का घटनामा परी पछिल्लो साढे दुई महिनाको अवधिमा नेपालमा १ सय जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि असार १८ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरूको मृत्यु भएको हो । सो अवधिमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी र जनावरको आक्रमणका घटनामा परी उनीहरूको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

२०७९ साल शुरू भएपछि सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । चट्याङ लागेर पछिल्लो साढे दुई महिनाको अवधिमा ३९ जनाको मृत्यु भइसकेको छ ।सो अवधिमा पहिरोमा परी ११, बाढीमा परी ३, भारी वर्षाका कारण ३, सर्पको टोकाइबाट ५, आगलागीमा परी २०, हावाहुरीका कारण ८ र जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

बितेको साढे दुई महिनाको अवधिमा विपद्का घटनामा परी ३ जना वेपत्ता भएका छन् ।प्राधिकरणका अनुसार यस वर्ष विपद्का घटनाका कारण राज्यले ६५ करोड २१ लाख २३ हजार ५ सय ६० रुपियाँ बराबरको आर्थिक क्षति व्यहोरिसकेको छ।सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले ५४ करोड ९६ लाख ३४ हजार ४ सय ६० रुपैयाँ बराबरको गरेको छ । पहिरोका घटनाले हालसम्म ४ करोड ४७ लाख ७५ हजार रुपियाँ र हावाहुरीले २ करोड ५४ लाख ११ हजार ८ सय रुपियाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना– २०७९ अनुरूप विपद्को प्रतिकार्य सञ्चालन गर्दै आएको प्राधिकरणले जनाएको छ । कार्ययोजनाले जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आंकलन र विगतको प्रतिकार्यको समीक्षा गर्दै कार्ययोजनाअनुरूप काम गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्