अरुणा र प्रदीप वर्षको उत्कृष्ट खेलाडी



पोखरा
छैटौं पोखरा स्पोर्ट्स अवार्डमा टेनिस खेलले ह्याट्रिक गरेको छ । ७ विधामा प्रदान गरिएको अवार्डमा टेनिस खेलले ३ विधा प्राप्त गरेको हो । टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए । यस्तै, भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन् । टेनिसले वर्ष उत्कृष्ट खेलाडीसँगै उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीको अवार्ड समेत पाए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको स्पोट्र्स अवार्ड २०७८ सालको खेल प्रदर्शनका आधारमा प्रदान गरिएको थियो ।
नेपाली राष्ट्रिय महिला सिनियर टोलीकी कप्तानसमेत रहेकी अरुणाले क्रिकेटकी मनीषा उपाध्याय र करातेकी सरगम कुमाललाई पछि पार्दै इलेक्ट्रोनिक स्कुटरसहित अवार्ड प्राप्त गरेकी हुन । अरुणाले यसअघि पनि दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्ड समेत जितेकी थिइन् । उनको नेतृत्वमा नेपालले भलिबलमा दशकांैपछि पहिलोपटक अन्तर्राष्ट्रियरूपमा स्वर्ण हासिल गरेको थियो । नेपालले सेन्ट्रोल जोन भलिबलको उपाधि उचालेको थियो । जुन नेपाली भलिबलको इतिहासमा स्वर्णिम क्षण थियो ।
यस्तै, वर्ष उत्कृष्ट पुरुष खेलाडी टेनिसका प्रदीप खड्काले प्राप्त गरे । पाचौँ संस्करणको उदीयमान खेलाडी अवार्डसमेत प्राप्त गरेका प्रदीप टेनिसमा नेपालको १ नबर खेलाडीसमेत हुन् । उनले ब्याडमिन्टनका विधान अधिकारी र सितेरियो करातेका बुद्ध लामालाई पछि पार्दै अवार्ड जितेका हुनन् । उनले १३औँ सागमा नेपाललाई पहिलो पटक टेनिसमा पदक दिलाएका थिए । यति मात्रै होइन सानै उमेरमा उनले २०७७-२०७८ सालमा बंगलादेशमा टेनिसको यु–१९ को राष्ट्रिय प्रशिक्षकसमेत भएका थिए ।

पोखरा स्पोर्ट्स अवार्ड वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ सम्मानित भएको छ । संघलाई नगद ३५ हजार रूपैयाँसहित अवार्ड प्रदान गरिएको हो । तेक्वान्दो प्रदेशमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमै सबैभन्दा बढी पदक जितेको थियो । नेपालमा समपन्न १३औँ सागमा समेत नेपालले सबैभन्दा बढी पदक प्राप्त गरेको थियो ।

यस्तै, वर्षको उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठ सम्मानित भएका छन् । उनले सृष्टि जैसी र बक्सिङका साहिल लिम्बूलाई पछि पार्दै अवार्ड जिते । वर्ष उत्कृष्ट प्रशिक्षक अवार्डबाट पनि टेनिसका निरज थापा सम्मानित भए ।‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट गणेश भट्टराई सम्मानित भए । सम्मानित हुँदै थापाले नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय क्षेत्रमा फहराउनुजस्तो गर्वको कुरा अरू केही नभएको बताए । उनले खेलकुदमा राज्यको लगानी अति नै न्यून रहेको गुनासो पोखे । उनले खेलकुदमा राज्यले विनियोजन गर्ने रकम कर्मचारीको तलबका लागि मात्रै हुने गरेको बताए । वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीपक परियार सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्