माओवादीले टुंगो लगायो केन्द्रीय सदस्यको नाम



काठमाडौं ।

महाधिवेशन भएको छ महिनापछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ३ सय ७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ ।

आइतबार शुरू भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ सय ७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाउनुभएको हो । ३ सय ७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाबाहेक अन्य नाम टुंगो लागेको हो । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।

त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ । यसअघि माओवादीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने भनिए पनि पछि संख्या थपिएको थियो । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले केही बाँकी नाम केही दिनभित्र नै टुंगो लाग्ने बताउनुभयो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अहिलेको राजनीतिक अवस्थाबारे संक्षिप्त धारणा राख्नुभएको थियो । उहाँले स्थानीय तह चुनावमा नेपाली कांग्रेसले ठाउँ–ठाउँमा धोका दिएको र नेकपा (एकीकृत समाजवादी)ले हैसियतभन्दा बढी सिट दाबी गरेकाले केही समस्या भएको उल्लेख गर्नुभयो ।

प्रचण्डले बैठकबाट पोलिटब्युरो र स्थायी कमिटी गठन हुने बताए पनि पदाधिकारी चयनबारे स्पष्ट एजेन्डा अघि सार्नुभएको छैन । आजको बैठकमा सातै प्रदेशमा अध्यक्ष र विशेष कमिटीका अध्यक्षहरूले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्