विज्ञापन आचारसंहिता सार्वजनिक

समावेशी र पारदर्शितामा केन्द्रित



काठमाडौं ।

विज्ञापन बोर्डले आइतबार सार्वजनिक गरेको विज्ञापन आचारसंहितामा मुलुकको समावेशी पक्ष र विज्ञापन जगत्ले गर्ने गतिविधिको पारदर्शितामा विशेष जोड दिइएको छ ।

विज्ञापन आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाई विज्ञापन व्यवसायलाई मर्यादित बनाउने विश्वास बोर्डले लिएको छ । आचारसंहितामा विज्ञापन गर्न हुने र नहुने विषयवस्तुका सम्बन्धमा उल्लेख गरिएको छ ।विज्ञापन बोर्डले तयार पारेको आचारसंहिता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक औपचारिक समारोहका बीच सार्वजनिक गर्नुभएको हो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंका अनुसार सरोकारवालाहरूले लामो समयदेखि माग गर्दै आएको उक्त आचारसंहिता विज्ञापन बोर्डको गठनपछि सरोकारवाला र विज्ञसँग छलफल र अन्तरक्रिया पश्चात् विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ग) बमोजिम निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो ।

‘आचारसंहिताले विज्ञापन बजारमा देखिएका अपारदर्शी तथा अस्वस्थ्य प्रतिष्पर्धा लगायतका विकृति तथा विसंगतिलाई कम गरी विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउने तथा उपभोक्तालाई गुणस्तस्तरीय वस्तु तथा सेवा प्राप्तिमा सुनिश्चितता प्रदान गर्ने विश्वास लिएको छु’ विज्ञापन बोर्डका अध्यक्ष हुमागाईले बताउनुभयो ।

आचारसंहितमा उपभोक्ताको हक हितको संरक्षण, महिला, बालबालिका तथा पिछडिएका वर्गको हितको संरक्षणजस्ता समावेशिताका विषयवस्तुहरू समेटिएका छन् । विज्ञापनको उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणमा संलग्न व्यक्तिले पालना गर्नुपर्ने आचरणका विषयमा आचारसंहिता केन्द्रित रहेको हुमागाईंको भनाइ छ । विज्ञापन उत्पादन गर्दा मौलिक सिर्जनालाई प्राथमिकता दिने, स्वदेशी कला र संस्कृतिलाई प्रोत्साहन गर्ने व्यवस्थासमेत गरिएको हुमागाईंले बताउनुभयो ।

आचारसंहिताका विषयवस्तुहरू सामाजिक मर्यादा कायम गर्न, महिला तथा बालबालिको विज्ञापनमा दुरूपयोग हुनबाट रोक्न, उपभोक्ताको हितको संरक्षण गर्न, स्वच्छ प्रतिष्पर्धात्मक वातावरण सिर्जना गर्न परिलक्षित रहेको सार्वजनिक नीति पुस्तिकामा उल्लेख छ । आचारसंहितामा स्थलगत तथा डिजिटल माध्यमबाट हुने विज्ञापनको उत्पादन, वितरण तथा प्रकाशन वा प्रसारण गर्दा अपनाउनुपर्ने आचारणका विषयमा स्पष्ट व्यवस्था गरिएको जनाइएको छ ।

आचारसंहिताले विज्ञापन उत्पादनमा मौलिक, सिर्जनशील र व्यावसायिक हुनुपर्ने कुरामा जोड दिएको, विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक र प्रामाणिक हुनुपर्ने, भ्रमपूर्ण र दोहोरो अर्थ लाग्ने विज्ञापन गर्नु–गराउनु नहुने, विज्ञापनदाताको परिचय स्पष्ट खुल्नुपर्ने तथा विज्ञापनमा उल्लेख भएको गुणस्तर र मात्रा बजारमा वितरित वस्तु तथा सेवामा अनिवार्य रूपमा हुनुपर्ने व्यवस्थासमेत गरेको छ ।

विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण गर्दा विज्ञापन बोर्डमा सूचीकृत सञ्चार माध्यममा मात्र गर्नुपर्ने, स्वदेशी सञ्चार माध्यमलाई प्राथमिकता दिनुपर्ने व्यवस्था नीतिमा छ । विज्ञापनदाताले विज्ञापन एजेन्सी परिवर्तन गर्दा पुरानो एजेन्सीको वक्यौता चुक्ता गर्नु पर्ने, सम्भव भएसम्म प्रदेश तथा स्थानीय तहका विज्ञापन प्रकासन तथा प्रसारण गर्दा प्रादेशिक तथा स्थानीय सञ्चाभरमाध्यमलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्थासमेत आचारसंहितामा गरिएको छ ।

विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा तोकिएको स्थान, समयमा गर्नु पर्ने, विज्ञापन प्रकाशन भएको पत्रिकाको अंक कसैलाई लाभ वा हानि पु¥याउने नियतले बजारमा जान रोक्नेजस्ता दुष्कर्म कदापि गर्न नहुने जस्ता व्यवस्था आचारसंहिताले गरेको छ । प्रकाशित वा प्रसारित नै नभएको विज्ञापन प्रकाशन तथा प्रसारण भएको भनी भुक्तानी माग गर्ने, विज्ञापन प्रकाशन वा प्रसारणको अनुरोध वेगर नै विज्ञापन प्रकाशित गरी भुक्तानी माग गर्ने लगायतका जबरजस्ती गर्ने क्रियाकलाप गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ ।

विज्ञापनलाई समाचारको रूपमा र समाचारलाई विज्ञापनको रूपमा प्रकाशन तथा प्रसारण गर्न नपाउने, विज्ञापन बोर्डबाट अनुमति लिएर मात्र विज्ञापन प्रसारण गर्नुपर्ने जस्ता व्यवस्था आचारसंहितामा गरिएको छ । सामाजिक सञ्जालमा विज्ञापन गर्दा सामाजिक सञ्जालले नियामक निकायबाट अनुमति लिनुपर्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ ।विज्ञापन बजार अपारदर्शी भएको गुनासो आइरहेको बेला विज्ञापनको आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने अपेक्षा बोर्डले गरेको छ ।

त्यसका लागि सञ्चालरमाध्यमले आफ्नो दर सार्वजनिक गर्नुपर्ने र त्यसमा दिने छुटसम्म खुलाउनुपर्ने, सार्वजनिक गरिएको दररेटमा घटि वा बढी गरी कारोवार गर्न नपाइने, विज्ञापन एजेन्सीले सञ्चार माध्यमले तोकेकै दररेटमा कारोबार गर्नुपर्ने, सरकारी निकायले सञ्चार माध्यमको विलको प्रतिलिपि हेरेर उक्त विलमा एजेन्सी कमिसन दिनुपर्ने भए एजेन्सी कमिसन समेत खुलाएर बनाएको बिलमा मात्र भुक्तानी गर्नुपर्ने, विज्ञापन कारोबार गर्दा त्रिपक्षीय सम्झौताको आधारमा गर्नुपर्ने जस्ता व्यवस्था गरिएको छ ।

विज्ञापनको आचारसंहिताले भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन विज्ञापनदाताले विज्ञापन एजेन्सीलाई ३० दिनभित्र भुक्तानी दिनुपर्ने, एजेन्सीले सञ्चाजर माध्यमलाई ६० दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।

तोकिएको समयमा भुक्तानी प्राप्त नभए बोर्डमा उजुरी दिन सकिने र बोर्डले भुक्तानी समयमा नगर्ने विज्ञापनदाता तथा एजेन्सीलाई कालोसूचीमा राखी अन्य सञ्चार माध्यममा समेत विज्ञापन दिन नसक्ने गर्नसक्ने व्यवस्था आचारसंहिताले गरेको छ ।विज्ञापनदाताले आफूले चाहेको सञ्चारमाध्यममा विज्ञापन गर्न पाउनुपर्ने, एउटा सञ्चार माध्यममा विज्ञापन गरेको आधारमा आफ्नो सञ्चार माध्यममा विज्ञापन गर्न दबाब दिन नहुने लगायतको व्यवस्था विज्ञापन आचारसंहितामा छ ।

प्रतिक्रिया दिनुहोस्