कानुनी प्रक्रिया पूरा नहुँदै चार नयाँ विश्वविद्यालयलाई सवा एक अर्ब

रक्षा र खेलकुद मन्त्रालयले छुट्टै विश्वविद्यालय सञ्चालन तयारी



काठमाडौं ।

शिक्षा मन्त्रालय भन्छः सञ्चालन प्रक्रियामा गएपछि बजेट छुट्याएको हो ।

सरकारले वामे सर्दै गरेका ४ विश्व विद्यालयलाई झन्डै सवा १ अर्ब बजेट व्यवस्था गरेको छ । हाल सञ्चालनमा रहेका ११ बाहेक ४ नयाँ विश्वविद्यालयलाई सो रकम विनियोजन गरेको हो । सञ्चालन तयारीमा रहेका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, विदुषी योगमाया, नेपाल विश्वविद्यालय र मदनभण्डारी प्रौद्योगिक विश्वविद्यालयलाई झन्डै साढे एब अर्ब रुपियाँ विनियोजन गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास शीर्षकमा १ अर्ब रुपियाँ छुट्याएको छ । चित्लाङमा सञ्चालनको अन्तिम तयारीमा रहेको सो विश्वविद्यालयको भौतिक निर्माणमा १ अर्ब रुपियाँ बजेट व्यवस्था गरेको हो ।

त्यस्तै, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालन खर्च ३ करोड, नवलपरासीमा सञ्चालन गर्ने योजना रहेको नेपाल विश्वविद्यालय सञ्चालन अनुदान १ करोड ५० लाख र मदनभण्डारी प्रौद्योगिक विश्वविद्यालय स्थापनार्थ तयारी कार्य र अन्य गरी ९ करोड रुपियाँ बजेट व्यवस्था गरेको हो । उक्त बजेट विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराउनेछ ।त्यसबाहेक नेपाली सेनाले डिफेन्स विश्वविद्यालय र युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख डा. कमल पोखरेलले विश्वविद्यालय स्थापना हुने कार्य जारी रहेको बताउनुभयो ।

‘हाल ११ वटा विश्वविद्यालय सञ्चालनमा छन् । तीबाहेक ४ वटा सञ्चालनको प्रक्रियामा, रक्षा र युवा तथा खेलकुद मन्त्रालयले डिफेन्स र खेलकुद विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको छ’ –सहसचिव डा. पोखरेलले भन्नुभयो ।उहाँका अनुसार विदुषी योगमाया र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको मस्यौदा तयार भई सञ्चालन हुन अन्तिम तयारीमा रहेको छ । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको मस्यौदा प्रतिनिधि सभामा पेस गर्नुभएको थियो ।

अहिले सो विश्वविद्यालयको मस्यौदामा दफावार छलफल जारी छ । त्यस्तै, मदन भण्डारी प्रद्योगिक विश्वविद्यालय, नेपाल विश्वविद्यालयको मस्यौदा तयार हुने क्रममा रहेको सहसचिव डा. पोखरेलले बताउनुभयो ।अघिल्ला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा विदुषी योगमाया विश्वविद्यालयको मस्यौदा राष्ट्रिय सभामा पेस गरिएको थियो । नयाँ चार विश्वविद्यालय सञ्चालनको प्रक्रियामा लैजान सरकारले मस्यौदा तयारी गरिरहेको जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले भन्नुभयो– ‘नयाँ विश्वविद्यालय खुल्ने क्रम जारी रहेको छ ।’

उहाँले नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको डिफेन्स विश्वविद्यालले भक्तपुरको साँगामा भौतिक पूर्वाधार निर्माण शुरु गरेको जानकारी दिनुभयो । त्यस्तै सरकारको नीति तथा कार्यक्रम र बजेटमा खेलकुद विश्वविद्यालय सञ्चालन गर्ने उल्लेख भएको थियो ।अहिले ११ वटा सञ्चालन भइरहेका छन् ।

४ वटा अन्तिम तयारीमा रहेको छ भने दुई मन्त्रालयले खोल्ने तयारी गरेको डिफेन्स, खेलकुद विश्वविद्यालयको प्रक्रिया रक्षा र खेलकुद मन्त्रालयले अघि बढाएको छ । त्यो दुईवटा समेत गरी १७ वटा विश्वविद्यालय सञ्चालन गर्ने तयारीमा छन् । विश्वविद्यालय अनुदान आयोगले बजेटको व्यवस्था गरेपछि चार विश्वविद्यालय सञ्चालन हुने लगभग पक्कापक्की भएको मन्त्रालयको भनाइ छ ।नेपालमा हाल त्रिभुवन, काठमाडौं, नेपाल संस्कृत, सुदूरपश्चिम, मध्यपश्चिम, राजर्षीजनक, नेपाल खुला, लुम्बिनी बौद्ध, कृषि तथा वन, पूर्वाञ्चल र पोखरा विश्वविद्यालय सञ्चालन भइरहेको छ । तीबाहेक चार विश्वविद्यालयले सञ्चालन गर्न अन्तिम करसत गरिरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्