सर्वसाधारणलाई अपर हेवाखोलाको आईपीओ आउँदै



काठमाडाैं ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता १०० अंकित १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कुल निष्कासनको दुई प्रतिशतले हुने ३० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १३ लाख ९५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ ।कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन ६ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ ।

कम्पनीले संखुवासभा जिल्लामा ८ दशमलव ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो सेयर’ को मोबाइल एप तथा वेबसाइटमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी–बिबी आईएस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्