त्रिविको बजेट : १० शीर्षकमा झण्डै १० अर्बभन्दा बढी रकम विनियोजन



काठमाडौं ।

आगामी आर्थिक वर्षको बजेटमा त्रिभुवन विश्वविद्यालयले १० अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक वर्ष २०७९÷०८० को बजेट नीति तथा कार्यक्रमअन्तर्गत त्रिविले विभिन्न शीर्षकबाट उक्त रकम विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगले करिब १८ अर्ब रुपियाँ पाउनेछ । तीमध्ये करिब झण्डै ५० प्रतिशत रकम त्रिविले पाउनेछ । आयोगले १२ विश्वविद्यालयलाई रकम वितरण गर्नेछ । त्रिविले विभिन्न शीर्षकमा बजेट मागेको देखिएको छ । त्रिविअन्तर्गत विभिन्न क्याम्पसको नामै तोकेर बजेट उल्लेख गरेको छ ।

अर्थ मन्त्रालयले मन्त्री र उच्च तहका नेताको आग्रहमा समेत बजेट विनियोजन गरेको पाइएको छ । त्रिविले करिब १० शीर्षकमा बजेट माग गरेको छ । बजेट पुस्तिकामा त्रिभुवन विश्वविद्यालय सञ्चालन खर्च, शिक्षक कर्मचारीको तलबलगायत शीर्षकमा ८ अर्ब ८१ करोड रुपियाँ विनियोजन गरेको छ ।

त्यस्तै, त्रिविका सेडा, सेरिड, सिनासलगायत अन्य विश्वविद्यालयका अनुसन्धान केन्द्रमार्फत् हुने अन्वेषण तथा अनुसन्धान शीर्षकमा १० करोड, त्रिविका स्वायत्त क्याम्पसलाई अनुदान शीर्षकमा ८५ करोड, त्रिवि अर्थशास्त्र कन्द्रीय विभाग, वागेश्वरी क्याम्पस निर्माण, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको भवन निर्माण र पुँजीगत शीर्षकमा १–१ करोड रुपियाँ विनियोजन गरिएको छ ।

शिक्षा मन्त्रालयले तय गरेर पठाएको बाहेक अर्थले शीर्षक तोकेरै करिब २० करोड बढी रकम विनियोजन गरेको पाइएको छ । मन्त्रालयको बजेट पुस्तिकामा त्रिभुवन विश्वविद्यालयको अनुदान भवन निर्माण तथा मर्मत सम्भार र पुँजीगत सुधारतर्फ ३८ करोड ९५ लाख रुपियाँ विनियोजन गरिएको छ ।
त्यस्तै, त्रिवि व्यवस्थापन केन्द्रीय भवन निर्माण शीर्षकमा १ करोड ५० लाख, त्रिचन्द्र क्याम्पस र त्रिविका अन्य २५ आंगिक

क्याम्पसको पूर्वाधार विकास ड्रइङ डिजाइनलगायत पूर्व तयारी शीर्षकमा ५ करोड २० लाख रुपियाँ विनियोजन गरिएको छ ।
त्रिविले कर्मचारीको तलबमा मात्रै करिब ३ अर्ब रुपियाँ छुट्टाएको छ । यसैबीच सरकारले नेपालको जेठो र ठूला विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्स बनाउने घोषणा गरेअनुरूप त्रिविलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्ने कार्यक्रमको शीर्षकमा २ करोड ७० लाख रुपियाँ छुट्याइएको छ

बजेट पुस्तिकामा त्रिविका क्याम्पस, अनुसन्धान केन्द्र, विभागलगायतका निकायसमेत गरी १० शीर्षकमा बजेट विनियोजन गरिएको छ । अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयले तय गरेको भन्दा फरक शीर्षकमा त्रिविका विभिन्न क्याम्पस र निकायलाई बजेट विनियोजन गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्