गोल्डकप अन्तिममा हेटौंडा र आर्मी



हेटौंडा ।

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकपको अन्तिममा हेटौंडाको विजय युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।शनिबार हेटौंडा–५, क्याम्पा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले क्यामरुनी टिमलाई हराएको हो ।

आर्मीले एभिनियरलाई सडनडेथमा पराजित गरेको हो । निर्धारित समय एक-एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत नतिजा निकालिएको हो ।

सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४÷१४ प्रहार भएका थिए । आर्मीको ११ प्रहार गोल हुँदा एभिनियरका १० मात्र गोल भयो । अन्तिममा प्रहार गर्न पुगेका एभिनियरका डिजिकाको प्रहार बारमा लागेर फर्किएपछि आर्मी भाग्यमानी ठहरिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता लिएको थियो ।

आर्मीका लागि ५१ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेका हुन् । एभिनियरका डिफेन्डरको खुट्टामा अल्झिएको बललाई उनले गोलमा परिणत गरेका थिए । अतिरिक्त समयको अन्तिम केही सेकेन्ड बाँकी रहँदा एभिनियर खेलमा फर्किएको थियो ।

एभिनियरका डिजिकाले हेडमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । आर्मीले उपाधिका लागि सोमबार घरेलु टोली विजय युथसँग प्रतिस्पर्धा गर्नेछ । विजय युथले शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका दिनेश हेम्जन भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।

एभिनियरका प्रशिक्षक आशिक थापामगरले पटक–पटक पाएको मौकालाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए । ‘हामीले केही राम्रा मौका पाएका थियौं । त्यसलाई सदुपयोग गर्न सकेनौं । अन्तिम केही सेकेन्ड बाँकी रहँदा खेलमा फर्किएर पनि हार व्यहोर्न बाध्य भयौँ,’ मगरले भने । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अन्तिममा डिफेन्स लाइन चुक्दा खेल बराबरीमा पुगेको र जितका लागि सडनडेथसम्म कुर्नुपरेको प्रतिक्रिया दिए ।

जिल्ला फुटबल संघले आयोजना गरेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप विजेताले १५ लाख र उपविजेताले १० लाख रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत् उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्