डेनमार्कको लगातार दोस्रो जित



लन्डन । 

डेनमार्कले युइएफए नेसन्स लिग ए ग्रुप १ मा लगातार दोस्रो जित निकालेको छ ।डेनमार्कले लगातार दोस्रो जित निकाल्ने क्रममा अस्ट्रियालाई २–१ गोलअन्तरले पराजित गरेको हो । वेइनमा सोमबार राति भएको खेलमा घरेलु टोली अस्ट्रियालाई हराउन पिएरे इमिल होब्वजर्ग र जेन्स स्ट्रेगेर लार्सनले गोल गरे । घरेलु टोलीका साभिर स्कलाघेरले एक गोल फर्काएका थिए ।

खेलको २८औं मिनेटमा पिएरे इमिल होब्वजर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । ६७औं मिनेटमा साभिर स्कलाघेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मार्काे एर्नाउटोभिचको पासमा गोल गर्न सफल भएका थिए । ८४औं मिनेटमा जेन्स स्ट्रेगेर लार्सनले डेनमार्कलाई जित दिलाए । उनले क्रिस्टियन इरिक्सनको पासमा गोल गर्न सफल भएका थिए ।

लगातार दोस्रो जितसँगै डेनमार्क दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको अस्ट्रिया ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । फ्रान्स र क्रोएसिया समान एक अंक जोडेर तेस्रो र चौथो स्थानमा रहेको छ ।त्यसैगरी, विश्व विजेता फ्रान्स र उपाविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप १ अन्तर्गतको दोस्रो राउन्डको खेलमा बराबरी खेल्दै अक बाँडेका छन् । क्रोएसिया र फ्रान्सले १–१ गोलको बराबरी खेलेका हुन् । क्रोएसियामा सोमबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध फ्रान्सले शुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरी खेल्न बाध्य बनेको हो ।

खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेको फ्रान्सले ५२औं मिनेटमा अग्रता लिन सफल भएको थियो । एड्रियन राबिओटले विसाम विन यडरको पासमा गोल गर्न सफल भएका थिए । तर, ८३औं मिनेटमा एन्डरेज क्रामारिकले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । परिवर्तित खेलाडी जोनाथन क्लाउअसले क्रामारिकमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै क्रोएसियालाई पेनाल्टी प्रदान गरेको थियो ।

क्रोएसियाविरुद्ध फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले स्टार खेलाडी करिम बेन्जेमासँगै क्लियन एमबाप्पे, ह्युगो लोरिएस, किङ्सले कोमान, जुलेस कुन्डे र एन्टोइन ग्रिजमनलाई बेञ्चमै राखेका थिए । यो बराबरीपछि दुवै टोलीले समूहमा अंक जोडेका छन् । फ्रान्स दुई खेलबाट एक अंक जोडेर तेस्रो तथा समान अंक र खेलबाट क्रोएसिया पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्