नेपालको विश्वकपमा पुग्ने सम्भावना समाप्त



काठमाडौं ।

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा अर्को हार व्यहोरेपछि नेपालको विश्वकपमा पुुग्ने सम्भावना समाप्त भएको छ । नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको हो । यसअघि नेपाल यूएईसँग हारेको थियो । दुई हार बेहोरेपछि नेपालको शीर्ष स्थानमा रहँदै आगामी वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा खेल्ने सपना टुहियो ।

जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० रनमा अल आउट भयो । नेपालकी सृष्टि जैशीले ७ रन बनाउनु नै टोलीको तर्फबाट उच्चतम योगदान बनेको थियो । यस्तै, साना प्रविनले ६ रन बनाइन् ।यसैगरी, अञ्जली विश्वकर्मा ३, अनु कडायत ५, कृतिका मरासिनी ३, मनीषा उपाध्याय ३, रञ्जु श्रेष्ठ र स्नेहा महरा १–१ रनमा आउट भए ।सनु राजवंशी र अश्मा पुलामी मगर भने शून्यमा आउट भए ।

थाइल्यान्डकी नथिता बुनसुखमले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिइन् ।त्यसअघि, युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस हारेर पहिला ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो । थाइल्यान्डको लागि थिपाच्चा पुथावाङले ३१ बलमा सर्वाधिक २० रन बनाइन् । ओपनर बंथिदा लिफथानाले २२ बलमा १ चौकासहित १९ रन जोडिन् । नान्नाफाट चैहान ६ र सुवनाना खियाओटो २४ बलमा १६ रनमा आउट भइन् ।

नेपालकी स्पिनर मनीषाले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिकाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । स्नेहा महराको नाममा १ विकेट रह्यो ।नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो । नेपाल युएईसँग ८ रनमै अल आउट भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको थियो । ६ देश सहभागी प्रतियोगिताबाट विश्वकपमा छनोट हुने सम्भावनामा यूएई र थाइल्यान्डमध्ये एकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्