माउन्ट एभरेस्ट तेक्वान्दो पोखरामा हुने



पोखरा । 

नेपाल तेक्वान्दो संघको आयोजनामा हुने अन्र्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता पोखरामा हुने भएको छ । तीन वर्षअघि पोखरामा आयोजना गर्ने भनिएको तेक्वान्दो कोरोना महामारीका कारण स्थगित भएको थियो ।

जि २ स्तरको उक्त प्रतियोगितामा ५० भन्दा बढी राष्ट्रका खेलाडीको सहभागिता रहनेछ । यसअघि, २ संस्करण काठमाडौंमै आयोजना गरिएको थियो । पोखरामा प्रतियोगिताको आयोजनाले यहाँको पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास संघको रहेको छ । आइतबार प्रतियोगिताबारे जानकारी दिँदै संघका सदस्य सचिव जगन बहादुर गुरुङले दक्षिण अमेरिकादेखि जापानसम्मका खेलाडीको सहभागिता रहने बताए । उनले प्रतियोगितामा नेपालबाट मात्रै करिब ५ सय खेलाडीको सहभागिता रहने र विदेशबाट यति नै भन्ने यकिन नभएको सुनाए ।
‘हामीले खुल्ला प्रतियोगिता गरेका हौं यो जि२ स्तरको प्रतियोगिता हो ।

यो प्रतियोगिता साग गेम भन्दा पनि स्तरीय हो’ उनले भने ‘खुल्ला प्रतियोगिता भएकै कारणले विदेश खेलाडी यति नै आउँछन् भन्ने यकिन छैन तर, एक हजारभन्दा माथि खेलाडीको सहभागिता रहन्छ ।’ खेलाडीहरू आफ्नो रेन्किङका लागि समेत आउने भएकाले सहभागितामा वृद्धि हुन सक्ने आयोजकको अनुमान रहेको छ । प्रतियोगिता सम्पन्न पार्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द नेपाली पोख्रेलको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिएको छ ।अन्तर्राष्ट्रिय तेक्वान्दो संघले असोज ३१ देखि कात्तिक ३ गतेसम्मका लागि मिति दिए पनि पोखरामा नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत असोज अन्तिममै हुने भएकाले मिति अघि सारिएको जानकारी दिए ।

‘हामीले असोज ३१ देखि कार्तिक ३ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरेका थियौं तर, नवौ खेलकुदसमेत सोही मितिमा हुने समाचार आएका कारण मिति सारिएको हो’ संघका महासचिव दिपराज गुरुङले भने । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोजमा हुने वा नहुने भन्ने विषयमा आफूहरूलाई कुनै आधिकारिक जानकारी नआएको सुनाए । उनले असोज अन्तिममा नवौं खेलकुद हुने वा नहुने भन्ने विषयमा आशंका रहेको बताए ।

असोज ५ गतेदेखि ९ गतेसम्म हुने प्रतियोगिताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत खेलाडीलाई टेवा पुग्नेछ । नेपालको परिवेशमा सबैभन्दा बढी मेडल ल्याउने खेलको रूपमा रहेको तेक्वान्दोको यो प्रतियोगिताले दीपक विष्ट, संगीना वैद्य, सपना मल्ल जस्ता खेलाडी उत्पादनमा कोसेढेंगा सावित हुने अपेक्षा आयोजकको रहेको गुरुङले बताए । तेक्वान्दो विश्वका २ सय १६ राष्ट्रमा खेलिन्छ प्रतियोगिता सञ्चालन गर्न करिब २ करोड खर्च हुने अनुमान गरिएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीले विभिन्न तौल समूहमा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्