पुलिसद्वारा खुमलटार पराजित



हेटौंडा । 

स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताअन्तर्गत् हेटौंडामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले हराएको छ ।

पुलिसका लागि खेलको दोस्रो मिनेटमै अभिषेक रिजालले गोल गरेका थिए । २३ औं मिनेटमा भरत शाहले अग्रता दोब्बर पारे । खुमलटारका लागि अजित लामाले ९० औं मिनेटमा गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलको ‘म्यान अफ दी म्याच’ खुमलटारका दिवस सत्याल भए ।यसअघि, बिहानको खेलमा गोल्डकपमा सशस्त्र प्रहरीको नेपाल एपीएफले ३–० को सहज जित हात पारेको थियो । हेटौंडा–५ को पिप्ले रंगशालामा आइतबार बिहान भएको खेलमा एपीएफले फ्रेन्ड्स् क्लब ललितपुरलाई फराकिलो गोलअन्तरले पराजित गरेको हो ।
पहिलो हाफको २८औं मिनेटमा एपीएफका नवीन लामाले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए ।

फ्रेण्ड्स्का डिफेन्डरले एपीएफका प्रदीप लामालाई डीबक्स क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लामाले गोल गरेका हुन् । खेलको दोस्रो हाफको ३१ औं मिनेटमा एपीएफका सबिन गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अतिरिक्त समयमा एपीएफका रवि थिङले गोल गर्दै सहज जित दिलाए ।

थिङले फ्रेन्ड्स्का गोलरक्षकले गरेको गल्तीको फाइदा उठाउँदै टोलीलाई ३–० को सहज जित दिलाए । वान भर्सेस वानको अवस्थामा रविको प्रहार गोलमा परिणत भयो ।खेलको ५५औं मिनेटमा एपीएफका राजीव पहरी रातो कार्ड पाउँदै मैदान छाडेपछि एपीएफ १० खेलाडीमा समेटिएको थियो । ७६ औं मिनेटमा एपीएफका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका सबिन गुरुङले गोल गर्दै अग्रता फराकिलो बनाए । खेलको अतिरिक्त समयमा एपीएफका लागि रवि थिङले अन्तिम तथा तेस्रो गोल गरे । उनको सशक्त प्रहार फ्रेन्ड्स्का गोलरक्षक राजाबाबु मगरको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

नेपाली टोलीका पूर्वकप्तान विराज महर्जनको कप्तानीमा मैदान उत्रेको फ्रेन्ड्स्ले केही मौका पाए पनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको छ ।४९औं मिनेटमा जय गुरुङको प्रहार एपीएफका गोलरक्षक राजु योगीले मुस्किलले बचाए ।६६ औं मिनेटमा सुवास गुरुङको प्रहार पोस्टनजिकबाट बाहिरियो । ८८ औं मिनेटमा फ्रेण्ड्स्का दीपेश आलेले वान भर्सेस वान बललाई पोस्टको दिशा दिन सकेनन् ।

एपीएफले पनि केही राम्रा अवसर खेर फालेको थियो । खेलमा एपीएफका प्रदीप लामा ‘म्यान अफ दी म्याच’ घोषित भएर १० हजार रुपियाँ नगद प्राप्त गरे ।एपीएफले सेमिफाइनल प्रवेशका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । आर्मी र एपीएफबीचको खेल सोमबार दिउँसो ३ बजे हुनेछ । ३० गतेसम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्