इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन



लन्डन । 

कोपा अमेरिकाको उपाधि विजेता अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको च्याम्पियन बनेको छ ।
बुधबार राति भएको खेलमा कप्तान लिओनेल मेसीले उत्कृष्ट प्रदर्शन गर्दा अर्जेन्टिनाले युरो २०२१ का च्याम्पियन इटालीमाथि ३–० गोलअन्तरको सहज जित दर्ता गरेको हो ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (यूईएफए) र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौताअनुसार उक्त खेल भएको हो । जसअनुसार दक्षिण अमेरिकी च्याम्पियन र युरोपेली च्याम्पियन म्याच खेल्ने टुङ्गो लागेको थियो ।दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनालाई जित दिलाउन लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक–एक गोल गरेका थिए । अर्जेन्टिनाको आक्रमणमा अधिकांश समय चलायमान देखिएका मेसीले दुई असिस्ट दिँदा मार्टिनेजले पनि एक गोलका लागि योगदान गरे ।

इंग्ल्यान्डको वेम्बली रंगशालामा पहिलो हाफमा नै अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो । खेलको २८औं मिनेटमा अर्जेन्टिनाले मार्टिनेजको गोलमा अग्रता लिएको थियो । लिओनेल मेसीको कटब्याक पासमा मार्टिनेजले ६ यार्ड पेनाल्टी बक्सभित्र अनमार्क रहेको अवस्थामा सहजै गोल गरे ।पहिलो हाफको इन्ज्युरी समयमा डी मारियाले अग्रता दोब्बर पारे । उनले मार्टिनेजको थ्रू बललाई पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट चिप प्रहार गर्दै गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयमा डिबालाले गोल गर्दै सहज जित पक्का गरे । मेसीले अगाडि बढाएको बललाई डिबालाले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । इटालीको डिफेन्सले फितलो प्रदर्शन गर्दा अर्जेन्टिनाले सहज जित दर्ता गरेको हो ।

इटालीले सन् २०२१ जुनमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै युरो कपको उपाधि जितेको थियो । इटालीले टाइब्रेकरमा ३–२ को जित हासिल गरेको थियो । लगत्तै जुलाई २०२१ मा अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई हराएको थियो । अर्जेन्टिनाले १–० ले उक्त फाइनल जित्दा कप्तान लिओनेल मेसीले पहिलो अधिकारिक अन्तर्राष्ट्रिय उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्