साढे ४ महिनापछि नेकपा क्रान्तिकारीद्वारा त्रिविको ताला फोडे



काठमाडौं । 

त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको मुख्य गेटमा तालाबन्दी गरेको साढे ४ महिनापछि नेकपा क्रान्तिकारीले ताला फोडेका छन् । वार्ता र संवादबाट समस्या समाधान गर्न छाडेर ताला लगाउनु अनैतिक हर्कतको संख्या दिँदै फेरि तालाबन्दी नगर्न चेतावनी दिएको छ । उनीहरूले पार्टीको मध्य केन्द्रीय कमान्डका इन्चार्ज सफलद्वारा हस्ताक्षरित विज्ञप्ति टाँसेर ताला फोडेका हुन् ।

गएको माघ ७ गते उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल कार्यालयको मुख्य प्रवेशद्वार र कार्यकक्षमा तालाबन्दी गरेका थिए ।ताला फोडेपछि त्रिविमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । नेकपा क्रान्तिकारीले विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउने र ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रूपमा जुनसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहने चेतावनी दिएको छ ।

पत्र टाँसेर उनीहरूले तीनै जना पदाधिकारीको कार्यालयमा लागेको ताला फोडेका थिए । अकस्मात् घटना भएकाले प्रहरी समयमा पुग्न सकेको थिएन । ताला फोडेपछि आएको प्रहरी टोलीले सीसीटिभीको फुटेज हेरेको थियो ।नेपाल विद्यार्थी संघ त्रिवि इकाइले जनकपुरस्थित युथ क्याम्पसमा बीसीए ‘ब्याचलर अफ कम्प्युटर एप्लिकेसन’ कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घूस मागेको र घूस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पदाधिकारी कार्यालयको मूलगेटमा तालाबन्दी गरेका थिए । पदाधिकारीको बर्खास्तीलाई अन्तिम हतियार बनाएको नेविसंघले माग पूरा नभएसम्म ताला नखोल्ने अडान दोहो-याएको थियो ।

नेविसंघ त्रिवि इकाइ अध्यक्ष हरि आचार्यले त्रिविका पदाधिकारीकै सल्लाहमा ताला फोडेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘पदाधिकारीले समस्या समाधान गर्न छाडेर ताला फोड्न लगाउनु गम्भीर गल्ती गरेका छन् । अब हामी के गर्ने भन्ने विषयमा चाँडै निर्णय गर्नेछौं ।’उहाँले ताला फोडिएको बारेमा अनुसन्धान गरेपछि मात्रै थप निर्णय गर्ने बताउनुभयो । प्रहरीले ताला फोड्ने पार्टी र व्यक्तिको बारेमा जानकारी लिइरहेको छ । ताला फोड्ने कुनै गतिविधिको घोर भत्र्सना गर्दै नेविसंघका नेता आचार्यले भन्नभयो– ‘यो त पदाधिकारीकै षड्यन्त्र हो ।’ उहाँले संगठनको माग यथावत् रहेको पनि बताउनुभयो ।

भन्नुभयो– ‘समस्या जसले ल्याएको हो त्यसैबाट समाधान हुनुपर्छ ।’तालाबन्दी गर्ने पार्टीले विभिन्न बहाना र स्वार्थमा लगाइएको तालाबन्दीले त्रिवि सधंैका लागि बन्द हुने अवस्थामा पुग्न सक्ने चेतावनी दिँदै फेरि तालाबन्दी नगर्न आग्रह गरेको छ । ‘दलीय पहुँच र दबाबको भरमा आंशिक र करार हुँदै खुला प्रतिस्पर्धाबिना नै स्थायी नियुक्ति दिने परिपाटीले गुणस्तर खस्कँदै गएको ठम्याई गर्दै त्रिविलाई निजीकरण गर्न खोजिएकोमा चिन्ता बढ्दै गएको छ’ –विज्ञप्तिमा उल्लेख छ ।

चिन्तक, दार्शनिक, वैज्ञानिक उत्पादन गर्नुपर्ने विश्वविद्यालयमा अपराधीहरू जन्माउने थलोको रूपमा विकास हँुदै गएको नेविसंघको आरोप छ । ताला लगाउने पार्टीका बारेमा प्रहरीले आधिकारिकता खोजिरहेको छ ।त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीन महिनाअघि ताला खोल्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिनुभएको थियो । गृहमन्त्रीले ताला खोल्ने विषयमा चासो देखाउनुभएन । सहकुलपति एवं शिक्षामन्त्री देवेन्द्र पौडेलसमक्ष ताला खोल्न आग्रह गर्दा उहाँबाट पनि कुनै समाधान भएन ।

पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँणले समेत चासो देखाएका थिएनन् । पटकपटक गुहार माग्दा पनि ताला खोल्ने विषयमा लामो समयसम्म तालाबन्दी गरेर समस्या समाधन हुन नसक्ने ठोकुवा गर्दै नेकपा क्रान्तिकारी मध्य कमान्डले ताला फोडेको जनाएको छ ।

‘उनीहरूले अब कुनै पनि हालतमा तालाबन्दी गर्न नदिने अडान राखेका थिए । ताला खोल्ने विषयमा त्रिविका पदाधिकारीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेविसंघका अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगमा गुनासो सुनायौं तैपनि केही उपलब्धि हासिल नभएपछि पदाधिकारीले दिक्क मान्दै अर्के कार्यालयमा पुगेर लुकेर काम गरिरहेका थिए ।तालाबन्दीका कारण तीन पदाधिकारी कार्यालयमा रहेका झन्डै दुई दर्जन कार्यालयका कर्मचारीले पूर्ण रूपमा काम गर्न सकेका छैनन् । उनीहरू पदाधिकारीले बोलाएपछि जुन कार्यालयमा बसेका छन्, सोही कार्यालयमा पुगेर सुटुक्क काम गर्न बाध्य भएका छन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले ताला खोल्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । तालाबन्दीका कारण त्रिविका कर्मचारी र शिक्षकको उजुरी दर्ता गरी सुनुवाइ गर्ने निकाय पुनरावेदन आयोगको काम रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्