पहिलो सहभागितामै गुजरात फाइनलमा



नयाँ दिल्ली  । 

पहिलो सहभागितामै गुजरात टाइटन्स यस सिजनको भारतीय प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ ।
सोमबार राति भएको रोमाञ्चक खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । यस सिजनमा दुई नयाँ टोली थपिएकोमध्ये गुजरात शानदार प्रदर्शनसँगै फाइनल पुगिसक्यो ।

अर्को नयाँ टोली लखनउ सुपर जायन्टस् हो ।राजस्थानले १ सय ८९ रनको लक्ष्य दिएकोमा गुजरातले ३ बल बाँकी राखी ३ विकेटको नोक्सानमा जित हासिल गरेको थियो । टोलीलाई जित दिलाउन डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गरेका थिए । अन्तिम ओभरमा १६ रन जितको लागि आवश्यक भएकोमा मिलरले प्रसिद्ध कृष्णको पहिलो तीन बलमै छक्का प्रहार गरेर जित दिलाएका थिए ।

मिलर ३८ बलमा ३ चौका र ५ छक्कासहित ६८ रनमा नटआउट रहे । टोलीका कप्तान हार्दिक पान्ड्या २७ बलमा ५ चौकासहित ४० रनमा नटआउट रहेका थिए । चौथो विकेटका लागि हार्दिक र मिलरले १ सय ६ रनको अटुट साझेदारी गरेका थिए ।ओपनर ऋद्धिमान शाह शून्यमा आउट भएपनि गुजरातले राम्रो सुरुवात गरेको थियो । दोस्रो विकेटका लागि शुभमन गिल र म्याथ्यु वेडले ७२ रनको साझेदारी गर्दै ब्याटिङ बलियो बनाएका थिए ।

शुभमन २१ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा रनआउट भए । वेड ३० बलमा ६ चौकासहित ३५ रनमा आउट भए । राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।त्यसअघि इडेन गार्डेन कोलकातामा राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । टोलीका लागि ओपनर जोस बटलरले ५६ बलमा १२ चौका र २ छक्का हान्दै सर्वाधिक ८९ रनमा आउट भए ।

बटलर अन्तिम ओभरको अन्तिम नो बलमा दुई रन लिनेक्रममा रन आउट भएका थिए । बटलरले १६ ओभरको समाप्तिमा ३८ बलमा ३९ रन मात्र बनाएका थिए । त्यसपछि भने बटलरले आफ्नो खेल्ने शैली परिवर्तन गर्दै आक्रामक ब्याटिङ गर्दै रनगति बढाएका थिए ।ओपनर यशस्वी जैसवाल यश दयाल २ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि बटलर र सन्जुले ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

सुरुवात देखिनै आक्रामक ब्याटिङ गरेका सन्जुले २६ बलमा ५ चौका र ३ छक्कासहित ४७ रनमा आउट भए । देवदत्त पाडिक्कलले २० बलमा २ चौका र २ छक्कासहित २८ रन बनाए । गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पान्ड्या र साई किशोरले १–१ विकेट लिए ।

राजस्थानले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच हुनेछ । दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्