बोधित र वियंकालाई स्वर्ण



काठमाडौं । 

सुनसरीका बोधित डिसी र एपीएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । स्पिन इभेन्ट्स प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बोधितले एपीएफका रुविन महर्जनलाई ११–६, ११–९ र ११–६ को सोझो सेटमा पराजित गरे । एजीएका हिमाल विष्ट र नेपाल प्रहरीका गनन्जय दाहालले तेश्रो स्थानमा चित्त बुझाए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको गल्र्स फाइनलमा वियंकाले आर्मीकी दिया देउलालाई सीधा सेटमा ११–७, ११–३ र ११–६ ले हराइन् । आदर्श विद्या मन्दिर (एभीएम) की आश्मा पहरी र काठमाडौंकी इना डंगोल तेश्रो भए ।यसअघि, भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि काठमाडौंका चन्दन शाही र ५० वर्षमाथि एलडीटीटीएका राजेन्द्र वज्राचार्य पहिलो भएका थिए । यु–१२ सिंगल्सको ब्वाइजमा एभरेस्टका आर्यन शाही र गल्र्समा प्रहरीकी शुभश्री श्रेष्ठ तथा क्याडेट सिंगल्सको ब्वाइजमा सुनसरीका सिद्धार्थ तामाङ र गल्र्समा एपीएफकी इभाना थापा मगरले पहिलो स्थान हात पारेका थिए ।

जुनियर सिंगल्समा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार हात पारे । अन्य ६ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय÷२ हजार ५ सय का दरले नगद पुरस्कार पाए । ब्वाइजमा गोड स्पिनका रिवान वज्राचार्य, ललितपुरका रिजन शाक्य र एमआईएसका विशाल थापा उदीयमान खेलाडी घोषित भए । गल्र्समा एएनएस १९८० की अंकिता बज्राचार्य, अरुणीकी इच्छा चापागाईं र माउन्ट भ्यालीकी आशिका कासिछ्वा उदीयमान खेलाडी बने ।

प्रतियोगिताको मुख्य प्रायोजकमा अमेरिका बस्ने श्रवण चिपालु रहेका छन् । स्व. मिलन श्रेष्ठ टेबलटेनिसका पूर्वखेलाडी थिए । स्पिनकै आयोजनामा भदौमा दोश्रो राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने सचिव ज्याकी महर्जनले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्