मणि लामा फुटसल र फुटबलका मणि



काठमाडौं । 

मणि लामा नेपाली खेलकुदमा कुनै नौलो नाम होइन । नेपाली फुटबलमा मणिलाई नचिन्ने शायद बिरलै होला । उनी नेपाली खेलकुदमा विविध कला भएका खेलाडीसमेत हुन् । सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका उनले गत सिजनमा सम्पन्न ‘ए’ डिभिजन लिगमा राम्रो प्रदर्शन गरेका थिए । मिडफिल्डरले एक गोल पनि गरेका थिए । भन्नै पर्दा उनी फुटबल र फुटसलका नामअनुसारको मणि हुन् ।मणिको करियर टेबलटेनिसबाट शुरु भएको थियो ।

नेपाली टेबलटेनिसमा उनको योगदान अविस्मरणीय पनि छ । उनले २००६-०७ तिर टेबल टेनिसतिर आफ्नो खेल करियर थालनी गरेका थिए । उनले सन् २०१७ सम्म टेबल टेनिसमा रमाएपछि यो खेल छाडेका थिए । तर, उनले टेबल टेनिसमा राम्रो उपलब्धि पनि हासिल गरेका छन् । मणिले अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा एक स्वर्ण र एक कांस्य पदक जितेका थिए । नेपालगन्जमा भएको उक्त प्रतियोगितामा मणिले टिम इभेन्टमा स्वर्ण जिते भने पुरुष सिंगल्समा कांस्य जितेका थिए । यति मात्रै होइन, उनले २०१२ मा सिलोंगमा भएको जुनियर साफ च्याम्पियनसिपमा पनि पदक जित्न सफल भएका थिए । उनले यु–१८ मा पदक जितेका थिए ।

फुटबल र फुटसलतिर झुकाव

मणिले टेबलटेनिसको १० वर्षे करियर समाप्त गरेपछि फुटबल र फुटसलतिर झुकाव गरे । उनले दुवै विधामा एकैपटक खेल्न शुरु गरे । दुवै विधा एउटै शैलीमा खेल्ने भएको हुँदा पनि उनलाई दुइटा डुंगामा पाइला राख्न गाह्रो भएन । उनले फुटबलमा भन्दा पनि फुटसलमा राम्रो उपलब्धि हासिल गरेका छन् । फुटसलमा मणिले देशबाहिर गएर खेल्न पाएका छन् । इरानमा भएको एएफसी फुटसल छनोट दुईपटक खेल्न गएका थिए । २०१९ र २०२१ मा भएका छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय फुटसल टोलीले खासै केही गर्न पनि सकेन । तर, इरान धेरैपटक फुटसल उपाधि जितिसकेको टोली हुँदा नेपाली खेलाडीको लागि विश्वस्तरका खेलाडीसँग खेल्ने मौका चाहिँ पाएका छन् । यसमा मणि पनि भाग्यमानी खेलाडी बने ।

यति मात्रै होइन किर्गिस्तानमा भएको छनोट प्रतियोगितामा पनि मणिले खेल्न पाए । मणिले यसबारे बताए-हामीले विश्वस्तरका टोलीसँग खेल्यौ, यो हामी नेपाली खेलाडीको लागि उपलब्धि पनि हो । हार्नु स्वाभाविक नै हो, किनभने उनीहरूको दाँजोमा हाम्रो तयारी नै छैन । नेपालमा फुटसल भर्खर भर्खर बामे सर्दैछ । यस्तो अवस्थामा हामीले बाहिरी टोलीसँग एकैपटक खेल्न जाँदा नतिजा हाम्रो पक्षमा हुने त कुरै भएन । यदि राम्रै गर्ने हो भने नेपालमा फुटसलको लागि केही न केही गर्नु आवश्यक भइसकेको छ ।

मणिले फुटसल फुटबल जस्तै ग्रासरुटदेखि नै शुरु गर्नुपर्ने बताएका छन् । उनले इन्डोर रंगशाला बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै बताए  । ग्रासरुटबाट फुटसलको विकास गर्नुपर्छ । यसको लागि सम्बन्धित निकायले कसरी हुन्छ पूर्वाधार समेत संरचना गर्नुपर्छ । साथै फुटसल खेल्न इन्डोर रंगशालाको आवश्यक छ । यसले अनि फुटसलको नेपालमा विकास हुँदै जान सक्नेछ । अर्को मैत्री खेल पनि गर्नु आवश्यक छ ।फुटसल प्रतियोगिता नेपालमा भइरहेको भने छ । तर, यतिले भने फुटसलको कति पनि विकास हुने छैन । कमसेकम फुटसलको पनि फुटबलमा जस्तै लिग शुरु गर्नुपर्छ, यो अहिलेको आवश्यकता हो ।

किनभने फुटसलले विश्वभरि विस्तारै लोकप्रियता हासिल गर्दैछ । यसमा एक टोलीमा ५ खेलाडी हुन्छन्, फुटबलमा जस्तो ठूलो मैदान पनि जरुरी छैन । यसैले पनि मणिको दाबी छ यदि यसलाई प्रोत्साहन गर्न सकेमा यो फुटसलमा नेपालले विश्वमा तहल्का मच्चाउने छ ।मणिले फुटसल व्यवसायिकतातिर गइरहेपनि आफुलाई अहिलेको अवस्थामा सन्तुष्ट नभएको बताए । फुटबलमा लगानी ठूलो छ तर, यही नामको फुटसल खेलमा भने लगानीकर्तालाई आकर्षित गर्न नसकेको उनको भनाइ छ । उनले बताए-फुटसल विकास गर्नको लागि ठूल्ठूला लगानीकर्ता ल्याउनुपर्ने नै भइसकेको छ । अहिलेको स्थितिमा हेर्ने हो भने सबैको ध्यान फुटबलतिर नै छ ।

विदेशी प्रशिक्षक ल्याउनुपर्ने

किर्गिस्तानमा र इरानमा खेल्न जा“दा नेपाली खेलाडीको लागि नौलो भएको थियो । मणिले बताएअनुसार खेल्न त खेलियो तर, प्राविधिक पक्षमा अनभिज्ञ भएको हुँदा खेलमै नेपाली खेलाडी अलमलमा परेका थिए । यो अवस्था आएपछि मणिले नेपाली राष्ट्रिय फुटसल टोलीका लागि विदेशी प्रशिक्षक चाहिएको बताए । उनले भने-जब हामीले विदेशमा खेले तब हामीलाई थाहा भयो कि हामी कमजोर थियौं । हामी त त्यहा“ एमेच्योर खेलाडीजस्तै भएका थियौं । हामीले यस खेलसम्बन्धि प्राविधिक कुराहरू सिक्नुपर्ने भएको छ । यदि विदेशी प्रशिक्षक भइदिएमा हामीले धेरै कुरा सिक्न सकिन्छौं ।

दक्षिण एसियामा राम्रो हुने

दक्षिण एशियामा नेपालको स्थिति राम्रै भएको मणिको भनाइ रहेको छ । उनका अनुसार दक्षिण एसियामा नेपाल, माल्दिभ्स र भुटानले मात्रै फुटसल खेलिरहेका छन् साथैभारतले फुटसलमा कुनै चासो लिएको छैन । यस्तै बंगलादेश, पाकिस्तान र श्रीलंका पनि फुटसलबाट टाढै छन् । यस्तो अवस्थामा फुटसललाई विकास गरिदिने हो भने नेपालले भविष्यमा फुटबलमा भन्दा फुटसलमा राम्रो नतिजा निकाल्न सक्ने मणिको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्