सरकारी आदेश उल्लंघन, आइतबार पनि कार्यालय खुल्ने

कामपामा प्रमुख प्रशासकीय अधिकृतको मनोमानी


काठमाडौं  । 

काठमाडौं महानगरपालिकाले सरकारी आदेशको उल्लंघन गर्दै आज आइतबार कार्यालय खुला गर्ने भएको छ । जनप्रतिनिधि रिक्त भएको अवस्थामा कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले कार्यालय खुला गर्ने निर्देशन दिनुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले शनिबार नेपाल समाचारपत्रलाई निजी कार्यालय बन्द नहुने र ती कार्यालयले राजश्व संकलन गर्नुपर्ने भएकाले आइतबार कार्यालय खुला गर्ने निर्णय भएको जानकारी दिनुभयो । आइतबार बिहान ८ देखि ११ बजेसम्म कार्यालय खुला रहने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘सरकारी निर्देशन उल्लंघन गरेका होइनौं, कामपाको राजस्व संकलन बढाउन र दैनिक कामलाई चुस्त बनाउन कार्यालय खुला गर्न लागेका हौं ।’ उहाँले आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहेकाले राजस्व संकलन गर्न यस्तो व्यवस्था गरेको स्पष्टीकरण पनि दिनुभयो ।

वैशाख १४ गतेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि बिदा दिने निर्णय गरेको थियो ।तर, कामपाका कर्मचारीले भने प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधि नभएको अवस्थामा राजस्व संंकलन गर्ने बहानामा सरकारी निर्देशन अवज्ञा गरेको आरोप लगाएको छ । ती कर्मचारीले भने– ‘प्रमुख प्रशासकीय अधिकृत पौडेलले कामपामा मनोमानी गर्न खोज्नुभएको छ । उहाँको हरेक सोचाइ आफूकेन्द्रित देखिएको छ । बिदाको विषयमा कर्मचारीले राय लिँदा प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफूले गरेको निर्णय सबैले मान्नुपर्ने जवाफ दिनुभएको थियो ।’

कामपा प्रशासन विभागले शुक्रबार जारी गरेको सूचनामा कामपाका राजस्व विभाग र वडा कार्यालयहरू सार्वजनिक बिदाको दिन आइतबार खुला रहने र सोहीअनुसार कर्मचारीलाई कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको उल्लेख छ । प्रशासन विभाग प्रमुख महेश काफ्लेद्वारा हस्ताक्षरित सूचनामा वडा र तोकिएको विभागका कर्मचारीलाई अनिवार्य उपस्थित हुन उर्दी गरिएको छ ।सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बिदाको निर्णय गर्ने विषयमा तालुकदार निकाय संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयसँग राय लिनुपर्नेमा पछिल्लो समय प्रशासकीय प्रमुखका रूपमा कार्यभार सम्हालेदेखि मनोमानी गर्न थालेको कर्मचारीको आरोप छ । उच्च स्रोतका अनुसार यसअघि २५ लाखभन्दा माथिको भुक्तानीको चेकमा प्रशासन विभाग प्रमुख र वित्त विभाग प्रमुखले हस्ताक्षर गर्ने गरिएकोमा अहिले उहाँले आफैंले हस्ताक्षर गर्ने गर्नुभएको कर्मचारीको भनाइ छ ।

त्यस्तै, नक्सा विभागको अधिकार पनि कटौती गरी १० हजार स्क्वायर फिटभन्दा माथिको नक्सा स्वीकृत गर्दा आफैंले हस्ताक्षर गर्ने गर्नुभएको आरोप लगाउँदै ती कर्मचारीले भने– ‘सानातिना घरको नक्सा पास गर्न कर्मचारीले र १० हजारभन्दा माथि अर्थात् ठूला भवनको नक्सा पास गर्दा आफंैले हस्ताक्षर गर्नेगरी कर्मचारीको अधिकार खोस्नु आर्थिक चलखेल हो ।’ यसअधिका कार्यकारी अधिकृतले २० हजार स्क्वायर फिटभन्दा माथिको नक्सा पास गर्ने अधिकार आफूमा राखेका थिए । तत्कालीन कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नक्सा पास गर्ने सबै अधिकार कर्मचारीलाई दिनुभएको थियो ।

यति मात्रै होइन प्रमुख प्रशासकीय अधिकृत पौडेलले महानगरपालिकामा रहेको एउटा सवारीसाधन पनि आफ्नो घरमा प्रयोग गर्न लग्नुभएको कर्मचारीको आरोप छ । बीएए ६७६६ नम्बरको सवारीसाधन प्रयोग गरेका पौडेलले परिवारका लागि भन्दै बीएए ६७२२ नम्बरको सवारीसाधनसमेत घरमा लैजानुभएको छ । राजधानीको फोहोर व्यवस्थापन गर्न टाक्स फोर्सको प्रमुखको जिम्मेवारी लिएपछि पूर्ण असफल देखिएका पौडेलले सबै अधिकार आफूले लिएपछि महानगरमा उहाँको आलोचना बढेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।