दुईदिने विद्यालय बन्द भक्तपुर नगरपालिकाद्वारा अस्वीकार



काठमाडौं । 

–पर्ख र हेरको अवस्थामा छौं: प्याब्सन
–सरकारी निर्णय मान्नैपर्छ: शिक्षक महासंघ

भक्तपुर नगरपालिकाले सरकारी निर्णय अवज्ञा गर्ने भएको छ । सो नगरपालिकाले हचुवाको भरमा हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको जनाउँदै बिदा नदिने जनाएको छ ।

भक्तपुर नगरपालिकको नगर शिक्षा शाखाले सूचना जारी गर्दै भक्तपुर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई अर्को सूचना जारी नभएसम्म साविकबमोजिम विद्यालस सञ्चालन गर्न निर्देशन दिएको छ । शाखा प्रमुख कृष्णप्रसाद कर्मचार्यद्वारा हस्ताक्षरित सूचनामा शनिबारबाहेक बिदा नदिन अनुरोध गरिएको छ ।

भक्तपुर नगरपालिकाले नेपाल बन्द वा अन्य कुनै पनि बन्दमा सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । नेपाल बन्द वा अन्य कुनै पनि बन्दमा हुँदासमेत भक्तपुरका विद्यालय खुला हुन्थे । भक्तपुर नगरपालिका नगर शिक्षा शाखाले नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र प्रिन्सिपललाई सम्बोधन गर्दै हप्ताको दुई दिन बिदा नदिने जानकारी दिएको हो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले सरकारले गरेको निर्णय पालना गर्नुपर्ने बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘सरकारले दुई दिन बिदा दिने निर्णय गरिसकेको छ । यसलाई सबैले सहयोग गर्नेछन् ।’गृह मन्त्रालय हिजो आइतबारदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरिसकेको छ । गृहले एक साताअघि राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेबाट शनि र आइतबार सार्वजनिक बिदा दिन निर्णय गरेको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले आइतबार बिदा दिने निर्णय कार्यान्वयन नगर्ने जनाएको छ ।

एन प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले निजी विद्यालयहरूको असहमति हुँदाहुँदै शिक्षा मन्त्रालयले एकपक्षीय ढंगले आइतबार पनि बन्द गर्ने निर्णय गरेको आरोप लगाउँदै बिदा नदिने स्पष्ट पार्नुभएको हो ।‘हामीले एनप्याब्सन आबद्ध सबै विद्यालयलाई पत्राचार गरी बिदा नदिने निर्देशन दिइसकेका छौं । यसमा कुनै फेरबदल हुँदैन’ –उहाँको भनाइ थियो । ‘प्याब्सन र एन प्याब्सनका पदाधिकारीबीच बिदा दिने विषयमा मन्त्रालयसँग कुराकानी भइरहेको अवस्थामा एक्कासि बिदा दिने निर्णय आएका कारण हामीले बाध्य भएर अवज्ञा गरेका हौं’ –उहाँको भनाइ थियो । उहाँका अनुसार हिजो आइतबार पनि विद्यालय खुलै थिए । एन प्याब्सनअन्तर्गत करिब ४ हजार विद्यालय आबद्ध छन् ।
शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार कार्यदिन वा कार्यघण्टालाई प्रत्यक्ष प्रभाव पर्ने गरी बिदा थप गरिँदा आगामी दिनमा तोकिएको पाठ्यक्रम पूरा गर्न नसकिने चिन्ता व्यक्त गर्दै राष्ट्रिय प्याब्सनले सरकारले गरेको बिदासम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

उता प्याब्सनले सरकारलको निर्णलाई पर्ख र हेरको अवस्थामा रहेको जनाएको छ । प्याब्सनका अध्यक्ष डीके ढुंगानाले भन्नुभयो– ‘हामी ३ महिनासम्म अवस्था हेरेर निर्णय गर्नेछौं । देशैभरका विद्यालय सञ्चालकसँग छलफल गरी दुई दिन बन्द गर्ने वा नगर्ने विषयमा सामूहिक निर्णय गर्नेछौं ।’ विश्वभर पेट्रोलियम पदार्थका मूल्यवृद्धि उच्च भएसँगै सरकारले पेट्रोलियम पदार्थको खपत कम दुई दिन सरकारी निकाय र शिक्षालय बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले दुई दिन देशैभरका निजी र सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले अहिले केही महिना परीक्षणका लागि लागू गर्ने निर्णय भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘भक्तपुरले सबै सामुदायिक र संस्थागत विद्यालय बन्द नगर्ने निर्णय गरेको सुनेका छौं, यस विषयमा फेरि सरोकारवाला निकायसँग सल्लाह गर्ने तयारी भइरहेको छ ।’मन्त्रीपरिषद्को वैशाख १४ गते सम्पन्न बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको थियो । मन्त्रालययले हिउँदे र वर्षे बिदा कटौती गरी बढीमा ३० दिन मात्र बिदा दिने निर्णय गरेको छ ।

हाल सो बिदा ५० दिन थियो । प्रवक्ता शर्माले स्थानीय तहसँग सल्लाह गरी सोको आधारमा चाडपर्व, हिउँदे र वर्षेबिदा कटौती गर्न सक्ने जानकारी दिनुभयो ।मन्त्रालयले बिहान १० देखि ४ बजेसम्म र शुक्रबार पूरै समय कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । मन्त्रालयले प्राविधिक शिक्षालयलाई बिदा दिने निर्णयको व्यवस्थापन गर्न सीटीईभीटी र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्ने गरी निर्णय गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितीमा आएको गिरावटका कारण देखाउँदै परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । सातामा दुईदिन बिदा गर्दा सरकारी कार्यालयमा विद्युत्, इन्धन, खानेपानीलगायतमा वर्षभरिमा कम्तीमा २ अर्ब रुपियाँ बचत हुने अनुमान सरकारको छ ।

मन्त्रालयले नयाँ बिदाअनुसार चालु २०७९ सालको नयाँ शैक्षिक क्यालेन्डर नै तयार गरिरहेको छ । शिक्षा नियमावलीमा प्रत्येक शैक्षिक सत्रमा कम्तीमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने र कम्तीमा १ सय ८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ ।
वर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १ सय ९२ दिन मात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १ सय ७३ दिन विद्यालय बन्द हुनेछ । सातामा दुई दिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिएसँगै यसै वर्ष १ सय २९ दिन छुट्टी हुनेछ ।

त्रिविमा आइतबार नियमित पठनपाठन हुने

त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरू सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रूपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा विश्वविद्यालयले आइतबार एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहने जनाएको हो ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकाले उल्लेख छ । साथै, विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवाहरूलाई छ दिन नै सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्