नर्सको सेवाभावले स्वास्थ्य सेवा गुणस्तरीय



हेटौंडा । 

वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो बताउनुभएको हो ।मन्त्री लामाले कोभिडको कहर तथा विश्वव्यापीरूपमा देखिने महामारीविरुद्ध नर्सहरुले दृढता, प्रतिवद्धता र इमानदारितासाथ अहोरात्र खटेर संक्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापनमा देखाएको सक्रियताका कारण नर्सहरुप्रति बिरामी र आमनागरिकको सम्मान र श्रद्धा बढिरहेको बताउनुभएको छ ।

उहाँले नर्सहरुको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारको प्रगतिका लागि बिरामीको आत्मबल बढाउन दिने निरन्तर हौसलाको स्वास्थ्य क्षेत्रमा सधैं नै आवश्यकता रहने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय जगत्मा नर्स फ्लोरेन्स नाइटिंगेलको सम्झनामा विश्वव्यापी रूपमा नर्स दिवस मनाउने गरिन्छ । ‘नर्सहरु: नेतृत्वका लागि एक आवाज–विश्वव्यापी स्वास्थ्यसेवा सुरक्षित गर्नका लागि नर्सिङ क्षेत्रमा लगानी गर्नुहोस्’ भन्ने नारासाथ बिहीबार विश्वव्यापीरूपमा नर्स दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्