विपन्न वर्गको आरोप : नेताले आशा मात्रै बाँड्छन्

188
Shares

जाजरकोट । 

करिव २ सय बस्ती रहेको भेरी नगरपालिका–११ कटिगाउँमा चुनावका बेला दिन प्रतिदिन नेता–कार्यकर्ता स्थानीय तहका उम्मेदवारका साथमा एकपछि अर्को गर्दै आए । तर, सो गाउँका स्थानीयले भने उनीहरूको वास्तै गरेनन् ।

गाउँमा शिक्षा, रोजगारी, सीपमूलक कार्यक्रम नपाउँदा गरिव विपन्न परिवारका नागरिक सपरिवार कामको खोजीमा दोस्रो तथा तेस्रो मुलुक जान बाध्य छन् । ‘कयौं अपांग, टुहुरा, अशक्तले राज्यले दिने सेवा–सुविधा सहजरूपमा प्रदान गर्न सकेनन् । चुनावमा भोट माग्न गएका नेता विकास समृद्धि रोजगारी, परिवारको खर्च दिन्छु भन्छन् तर चुनाव जितेपछि पुनः फर्किंदैनन्’, भेरी नगरपालिका–१३ का भवेवर कामीले भन्नुभयो– ‘बिहान–बेलुकाको छाक टार्न धौ–धौ पर्छ ।’ रोजगारी नभएकाले गरिवीको रेखामुनि रहेकाको अवस्था जुन तन्त्र आए पनि उस्तै रहेको उहाँको दुःखेसो छ ।

चुनाव नजिकिँदै गर्दा सो गाउँका दश घर सपरिवार भारत पलाएन भएका थिए । तीनवटा सरकारले विपन्न नागरिकका लागि नयाँ योजनाका साथ अगाडि बढेको भए सायद ती परिवार पलाएन हुनुपर्ने थिएनन् । २ सय घर–परिवार ऋणमा डुवेका छन् । पछिल्लो समय लघुवित्त गाउँ पसेपछि पैत्रिक सम्पत्ति बेच–विखन गरेर लिएको ऋणा तिर्नुपर्ने अवस्था आएको छ । ‘निर्वाचनको बेला एकपछि अर्को दलका नेता कार्यकर्ता गाउँमा आउने गर्छन्, लागेको ऋण तिर्ने वाचा पनि गछैन् । तर, चुनाव जितेर गएपछि फर्केर आउँदैनन्’, स्थानीय नरबहादुर वरले बताउनुभयो– ‘हामी त भोट बैंक भयौं, भोट माग्न झूटो आश्वासन दिने गरेकाले विश्वास मरेर गइसक्यो । त्यसैले चुनावको हामीलाई कुने मतलव छैन ।’

गरिवको झुपडीमा आगो बालेको छ कि छैन हेर्ने, बालबालिका पढाइका लागि विद्यालयको व्यवस्थापन गर्ने, बालबालिकालाई शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउने आयआर्जन सीपमूलक कार्यक्रम सञ्चालन गरी दक्ष बनाउँछु भनेर लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिन जाने मनशाय गाउँलेले बनाएको उहाँ बताउनुहुन्छ ।

कटिगाउँ जस्तै जाजरकोटका विकट वस्ती बारेकोट गाउँपालिकाको मुलसाम, गोठगाउँ जिरी, नलगाड नगरपालिकाको सिउन, ध्यारगाउँ, बानियागाउँ, जुनीचाँदेको जुर्क निपाने मजकोट, शिवालय गाउँपालिका–६ को जाँत संगुरखाल लगायतका विपन्न परिवारका नागरिकले पाँच वर्ष पहिला आफ्नो पार्टीका नेता भनेर भोट दिएर जिताएर पठाएका नेताहरुले नै पाँच वर्षपछि स्थानीय तहको चुनावमा गाउँमा देख्न पाएका छन् । विकास योजना भनेअनुसार पाउन सकेका छैनन् ।

अधिकाश नागरिक गाउँमा ज्यालामजदुरी गर्न नपाउँदा कामको खोजीमा भारतको हिमाञ्चल, दिल्ली, बम्बै, गुजरातलगायतका ठाउँमा पलाएन भएका छन् । पुर्खौली पेसा संकटमा परेपछि जीविकोपार्जन गर्न कठिन भएकै कारण गाउँ बस्ती छोड्न बाध्य भएका हुन् ।
स्थानीय तह प्रदेश र केन्द्रको चुनावमा जितेर गएपछि नेताले गाउँ तथा मतदातालाई नै विर्षने गरेको सुनाउनुहुन्छ भेरी नगरपालिका–१२ का प्रसाद लुहार । गरिब, निमुखा शिक्षाबाट पछाडि परेका वर्गसँग विकास योजना आयआर्जन सुधारका कार्यक्रम दिन नचाहने, भोटका लागि मात्र गाउँलाई प्रयोग गर्ने गरेको भन्दै नेताहरूप्रति उहाँले रोष प्रकट गर्नुभयो ।

पाँच वर्षअघिको चुनावमा जनप्रतिनिधिले गरेका वाचा पूरा नगरेकाले निर्वाचनमा सोच्नुपर्ने बेला आएको नलगाड नगरपालिका–८ का लोकेन्द्र खत्रीले बताउनुभयो । उहाँले विकास र समृद्धि दिन्छौं भन्दै गत निर्वाचनमा भोट मागेका जनप्रतिनधिलाई जनतामाझ गरेका प्रशंसायोग्य कुनै एकमात्र काम सुनाउनसमेत आग्रह गर्नुभयो ।