करूवा सरूवा हरूवालाई कसैले भोट नहाल्नुहोला

डडेल्धुरामा प्रधानमन्त्री पत्नी डा. आरजु राणाको आक्रोश

94
Shares

डडेल्धुरा ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर कांग्रेसका असन्तुष्ट जिल्लास्तरीय नेताहरूले एमालेसँग चुनावी तालमेल गरिरहेकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।

डडेल्धुरा कांग्रेसभित्र षड्यन्त्र खेल्नेहरू नेपाली कांग्रेस (बीपी) पार्टीका नाममा करूवा चुनाव चिन्ह लिएर एमालेसँग तालमेल गर्नु राम्रो नभएको डा. राणाले बताउनुभयो । नेपाली कांग्रेस अमरगढी नगर समितिको आयोजनामा बुधबार डडेल्धुरा सदरमुकाम बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै नेतृ डा. राणाले नेपाली कांग्रेसमा रहेर षड्यन्त्र गर्नेहरू पार्टी छोडेर जाँदा केही फरक नपर्ने जिकिर गर्नुभयो ।

‘जसको राष्ट्रियस्तरको नेता नभएको पार्टीले के काम गर्न सक्छ ? करूवा पार्टीको नेता को हो ?’ भन्दै उहाँले डडेल्धुरा जिल्लाको विकासका लागि प्रधानमन्त्री देउवाले उल्लेखनीय काम गर्नुभएको दाबी गर्नुभयो । ‘३२ वर्षको उमेरमा बिहे गरेर पहिलोपटक डडेल्धुरा पुग्दा यहाँको विकासको अवस्था निकै निराशाजनक थियो, अहिले डडेल्धुरामा थुपै्र विकास भएको छ, यसको श्रेय प्रधानमन्त्री देउवालाई जान्छ’ –नेतृ राणाले भन्नुभयो ।

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्लप्रति लक्षित गर्दै डा. राणाले भन्नुभयो– ‘करूवा, सरूवा, हरूवालाई कसैले पनि भोट नहाल्नु होला, रूख चिन्हमा मतदान गरी नेपाली कांग्रेसका सबै उम्मेदवारलाई जिताउनु होला ।’ धर्तीको माया गर्नेहरूले रूखमा भोट हाल्नुपर्ने बताउँदै उहाँले कांग्रेसको विजय भए मात्रै डडेल्धुराको विकास हुने जिकिर गर्नुभयो ।‘गुण्डालाई उठाएर म करूवा पार्टी भनेर तपाईं पत्याउने ? पहिला चप्पल लगाउन पैसा नहुनेहरू अचेल विदेश घुम्छन् । टिकटक बनाउँछन,’ उहाँले भन्नुभयो– ‘भोलि यता बजेट आवश्यकता पर्दा कसले दिन्छ बजेट ? अहिले भर्खरै प्रधानमन्त्री देउवाले जिल्लामा ३१ करोडको बजेट पार्नुभएको छ । करूवाले कति बजेट दिएको छ ?’

आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्लको नेतृत्वमा डडेल्धुरा कांग्रेसका असन्तुष्ट नेताहरूले सामूहिक विद्रोह गर्दै नेपाली कांग्रेस (बीपी) मा समाहित भएर चुनाव चिन्ह करूवा लिएर नेकपा (एमाले) सँग चुनावी तालमेल गरेका छन् । मल्ल पक्षीय नेताहरूले एमालेसँग सहकार्य गरेर हेबिवेट उम्मेदवारहरू खडा गरेपछि सत्तारूढ दलहरूबीच गठबन्धन बन्न नसकेको डडेल्धुरामा नेपाली कांग्रेस एक्लै चुनावमा होमिएको छ ।

सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुन नसकेको र जिल्लामा नेपाली कांग्रेसमा देखिएको विभाजनका कारण कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसका उम्मेदवारहरू पराजय भोग्न सक्ने अवस्था देखिएकाले नेतृ राणा डडेल्धुरा पुग्नुभएको हो । नेतृ राणाले केही दिन डडेल्धुरामा बसेर पार्टीका चुनावी सभाहरू सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । यससँगै यही वैशाख २७ गते नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवासमेत चुनावी सभा सम्बोधन गर्न डडेल्धुरा आइपुग्ने कार्यक्रम छ ।