तीनै तहको सरकारमा एमाले पुनर्स्थापना हुन्छ : ओली

स्थानीय तह निर्वाचन



काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुबाट आफ्नो पार्टी सरकारमा पुनःस्थापना हुने दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनबाट जनताको समर्थनसहित एमालेलाई तीनै तहका सरकारमा पुनःस्थापना गर्दै हामी राष्ट्रको यस अभिभारा पूरा गर्ने छौँ ।’

सन्देशमा उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको उल्लेख गरेका छन् ।

सन्देशमा उनले नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रूपमा मनाउन पाएको जनाएका छन् ।

नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी औद्योगिक क्षेत्रमा अनावश्यक हडताल र सङ्घर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

‘कोभिड–१९ महामारीका बेला सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको आयमा कमी नआओस् भनेर प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था गर्‍यो । यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षा गर्न सहयोग गर्‍यो,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्