सात पालिका प्रमुखको दाउ पुनः नेतृत्व हत्याउने



लमजुङ ।

लमजुङका सातवटा पालिका प्रमुखले आगामी स्थानीय तह निर्वाचनमा पुनः नेतृत्व दाबी गरेका छन् । यसअघि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भई पाँच वर्ष कार्यकाल सम्पन्न गरेका प्रमुखहरुले पुनः नेतृत्वमा दाबी गरेका हुन् ।स्थानीय तह निर्वाचन नजिकिएसँगै जिल्लाका राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका बेला क्होसोँथार गाउँपालिकाबाहेक सबै स्थानीय तहका प्रमुखले नेतृत्व दोहो-याने इच्छा व्यक्त गरेका हुन् ।

पुनः नेतृत्व दाबी गर्नेहरुमा नेकपा एमालेका चार जना, नेपाली कांग्रेसका दुई जना र नेकपा माओवादी केन्द्रका एक जना रहेका छन् ।यसअघिको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्र, राईनास नगरपालिका प्रमुख सिंहबहादुर थापा र मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पुनः नेतृत्वका लागि पार्टीभित्रै दाबी गरेका हुन् ।

त्यसै गरी, कांग्रेसको तर्फबाट निर्वाचित मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे र दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले पनि पुनः पालिका प्रमुखको उम्मेदवारीका लागि पार्टीभित्र दाबी गरेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले पनि आगामी स्थानीय तह निर्वाचनमा नेतृत्व दोहो-याउने गरी पार्टीभित्र उम्मेदारीको दाबी गरेका छन् ।

स्थानीय तह उम्मेदवारीका लागि आकांक्षीहरु नाम स्थानीय तहबाटै सिफारिस भई आउने भन्दै उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कुनै पनि पार्टीले टुंगो लगाएका छैनन् । सबै पालिकामा सबै पार्टीका तर्फबाट एकभन्दा बढी आकांक्षी भएकेले उम्मेदवार छनोटका विषयमा टुंगो नलागेको सम्बन्धित राजनीतिक दलहरुले बताएका छन् ।अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाका आठ स्थानीय तहमध्ये नेकपा एमालेको तर्फबाट पाँचवटा स्थानीय तहमा विजयी भएको थियो भने नेपाली कांग्रेसका दुई र नेकपा माओवादी केन्द्रले एउटा पालिकामा जित हासिल गरेको थियो ।

अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लामा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तलमेल गरेको थियो भने आगामी निर्वाचनमा नेकपा माओवादीले नेपाली कांग्रेससहित सत्तारूढ चार दलसँग चुनावी गठबन्धन गर्ने भएको छ ।निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका छन् । यसअघिको कार्यकाल, जनमत, लोकप्रियता र क्षमतालाई मूल्यांकन गरी उम्मेदवार टुंगो लगाउने दलहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्