डब्लूएचओ महानिर्देशक टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच भेट



काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुग्नुभएका डब्लूएचओका महानिर्देशक गेब्रेयससले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटघाट गर्नुभएको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले डब्लूएचओको महत्वपूर्ण जिम्मेवारी र व्यस्त समयका बाबजुद नेपाल भ्रमणका लागि समय निकाल्नुभएकोमा खुसी व्यक्त गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले कोरोनाको कठिन समयमा संसारभरिका मानिसहरूको जीवन बचाउनका लागि डब्लूएचओले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो– ‘विशेषगरी कोभिड–१९ महामारीको समयमा तपाईंको बलियो, व्यावहारिक र दूरदर्शी नेतृत्वको नेपाल प्रशंसा गर्दछौं । तपार्इंको यो योगदानलाई विश्वले सधैं सम्झिरहनेछ ।’

डब्लूएचओले स्थापनादेखि नै विश्वकै जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल सन् २०२२ को मध्यसम्ममा शतप्रतिशतले पूर्ण खोप लगाइसक्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य हासिल गर्ने बाटोमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यस महामारीको समयमा नेपाललाई सबै सहयोग उपलब्ध गराउनु भएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट म धन्यवाद दिन चाहान्छु ।’

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले विश्वभर कोभिडविरुद्धको खोपको समान वितरण हुनुपर्ने जोड दिँदै विशेषगरी केही अफ्रिकी तथा अल्पविकसित मुलुकहरूमा समान वितरण नभएको भन्ने आवाज उठेकोप्रति ध्यानाकर्षण गर्नुभयो ।

उहाँले अन्तर व्यवस्थापिका संघको १४४औं सम्मेलनमा समेत यो विषय उठेको जानकारी गराउँदै यसमा डब्लूएचओले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा डब्ल्यूएचओ कन्ट्री अफिस, डब्ल्यूएचओ एसईआरओ र सम्पूर्ण डब्ल्यूएचओ प्रणालीको प्रशंसा गर्नुभयो ।

‘नेपाललाई औषधिको गुणस्तर नियन्त्रण र पहुँचलगायतका क्षेत्र, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संसाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान निदानका क्षेत्रमा विश्व स्वास्थ्य संगठनबाट सहयोग र समर्थन आवश्यक छ’ –अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले राज्यबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने हकलाई नेपाली नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले सबै नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन नेपाल सरकार लागिपरेको बताउनुभयो ।

नेपालस्थित डब्लूएचओको कार्यालयले विभिन्न महत्वपूर्ण काम गरेको बताउनुहुँदै अध्यक्ष तिमिल्सिनाले आफ्नो आग्रहमा कोभिड–१९को जोखिमबारेको प्रभावकारी सूचना प्रवाहमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रम गर्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

‘नेपालका सात प्रदेशमा भएको उक्त कार्यक्रमले सबै तहमा निर्वाचित जनप्रतिनिधिलाई एकै ठाउँमा ल्याउने काम गर्यो,’ उहाँले भन्नुभयो, ‘कोभिड–१९ महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहन्छ भन्ने उदाहरण सो कार्यक्रम प्रस्तुत गरेको छ । सो कार्यक्रमको नेतृत्व गर्न पाउँदा खुसी व्यक्त गर्दछु र प्राविधिक सहयोगका लागि डब्लूएचओलाई धन्यवाद व्यक्त गर्दछु ।’उहाँले नेपाल सरकार, संघीय संसद् र डब्लूएचओबीचको सहकार्य जनस्वास्थ्यको क्षेत्रमा उल्लेखनीय रहने र सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो ।

त्यसै गरी अध्यक्ष तिमिल्सिनले महानिर्देशक टेड्रोसलाई दोस्रो कार्यकालको लागि भएको मनोनयनलाई नेपालको तर्फबाट समर्थन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । त्यसै गरी भेटका क्रममा डब्लूएचओका महानिर्देशक टेड्रोसले नेपालको संसद्को नेतृत्वकर्ताको रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताउनुभयो ।

‘तपाईं बोलेर मात्रै होइन स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुनुभएको छ,’ उहाँले भन्नुभयो – ‘डब्लूएचओसँगको सहकार्यमा यहाँले नेतृत्व गरेर भएका कार्यक्रमहरूले कोभिडको समयमा सबै राजनीतिक पार्टी तथा जनप्रतिनिधिहरूलाई एकजुट हुन र यसको नियन्त्रणमा साझा रूपमा लाग्न प्रेरित गरेको छ ।’

कानुन निर्माणमा स्वास्थ्य क्षेत्र खासै प्रथामिकतामा पर्न नसकेको बताउँदै टेड्रोसले नेपालको संसद्ले कानुन निर्माणमा स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिनुपर्ने बताउनुभयो । उहाँले आईपीयूको १४४ औं सम्मेलनमा कोभिड खोपलगायतका विषयमा अध्यक्ष तिमिल्सिनाले राख्नुभएको धारणाका लागि धन्यवाद दिन समर्थन गर्नुभयो ।

‘स्वास्थ्यका विषयमा नेपालको सरकार र संसद्को समान धारणा रहेको पाएँ यसको प्रसंशा गर्दछु,’ उहाँले भन्नुभयो – ‘नेपालले मेरो प्रतिनिधिमण्डललाई गरेको न्यानो आतिथ्यताको प्रशंसा गर्दछु ।’त्यसै गरी भेटमा डब्लूएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै विशेषगरी खोप, शिशु तथा मातृमृत्युदरमा हासिल गरेको उपलब्धि उदाहरणीय रहेको र त्यसबाट अन्य मुलुकले सिक्नसक्ने बताउनुभयो । भेटमा संघीय संसद्का तर्फबाट महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाललगायत समेत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्