खजुराको राम्रो काम : विपन्नलाई घर



बाँके ।

अर्काको काम गर्दा र दुई छाक जुटाउन भौंतारिँदाभौंतारिँदै ढावा लामाको ६२ वर्ष बित्यो । चरम गरिबी भए पनि घामपानी छेक्ने आफ्नै सानो घर होस् भन्ने उहाँको ठूलो चाहना थियो । मजदुरी गरेको पैसा खाना र लगाउनमै ठिक्क थियो । घर बनाउने लामाको सपना टाढा हुँदै गइरहेको थियो ।

आफ्नै घरमा बस्ने लामाको चाहनालाई खजुरा गाउँपालिकाले पूरा गरिदिएको छ । गाउँपालिकाले विपन्न वर्गलाई घर बनाएर दिँदा लामा पनि परेका छन् । लामा भन्नुहुन्छ– ‘मलाई पनि घर प¥यो भनेको सुन्दा त शुरुमा सपनाजस्तै लागेको थियो । तर, हो रहेछ, घर पाइएको छ ।’

साइवा अन्सारीले पढ्न पाइनन् । उनलाई सधैं गरिबीले थिच्यो । आफ्नै घरमा बसेर ढुक्कसँग मीठोमसिनो खाने सपना थियो । अन्सारीको चाहनालाई पनि गाउँपालिकाले पूरा गरिदिएको छ । १२ नम्बरको घरमा अन्सारी परिवार मजाले बसेका छन् । त्यस्तै, रहिस हल्वाईलाई पनि सधैं घरको चिन्ता थियो । अर्काको घरमा बसेर उहाँले मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आउनुभएको थियो । प्रेम चौधरीको अवस्था पनि रहिसको जस्तै थियो ।

ढावा, साइवा, रहिस र प्रेमजस्ता १६ परिवार यति बेला खुसीले गद्गद् छन् । गाउँपालिकाले दुई कोठा, एक भान्छा र एउटा बरन्डा भएको चिटिक्कको घर बनाएर दिएपछि यी विपन्न परिवारमा खुसीयाली छाएको हो । रहिस भन्नुुहुन्छ– ‘घर पाइएला भन्ने सोचेका पनि थिएनौं । पक्की घरमा बस्न पाइयो । दिनभरि मजदुरी गरे पनि साँझ आफ्नै घरमा सुत्न पाइने भयो ।’ तराई समृद्धि कार्यक्रमअन्तर्गत बाँकेको खजुरा गाउँपालिकाले वडा नं. ३ मा विपन्नका लागि सामूहिक आवास बनाइदिएको हो ।

गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले १ करोड ७६ लाखको लागतमा सामूहिक आवासमा २१ वटा घर बनेको बताउनुभयो । ‘घर नभएका विपन्नलाई बसोबासको व्यवस्था मिलाएका हौं’, उहाँले भन्नुभयो– ‘विपन्न परिवारको सुरक्षा र जीविकोपार्जनका लागि स्थानीय सरकार सारथि बनेको छ ।’

एक बिगाह जमिनमा २१ वटा घर बन्दै छन् । १६ घरपरिवार घरमा बस्न शुरु गरेका छन् । पाँचवटा घर बन्दै छ । पाँचवटा घरको काम अन्तिम अवस्थामा पुगेको छ । यी घरमा पनि पालिकाका अति विपन्न वर्गलाई राखिनेछ । गाउँपालिकाले पालिकाभित्र रहेका घरविहीन विपन्नको निवेदन माग गरेको थियो । त्यही निवेदनका आधारमा घरबास नभएका व्यक्तिलाई सामूहिक आवासमा राखिएको हो ।

सामूहिक आवासमा बस्ने व्यक्तिले आफ्नो घरबास भएपछि त्यहाँ छोड्नुपर्छ । आफ्नो घरबास नहुँदासम्म उसले चाहेको जतिबेला पनि बस्न पाउँछ । गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले पालिकाले बनाइदिएको घर बस्ने व्यक्तिको नाममा नहुने जानकारी दिनुभयो । ‘घरबास उनीहरुको नाममा हुँदैन । तर, उनीहरु आफ्नो घरबास नबनाउँदासम्म बस्न पाउँछन्’, उहाँ भन्नुहुन्छ– ‘यो सामूहिक आवासमा बसेका व्यक्तिलाई पालिकाले रोजगारीको अवसर पनि दिन्छ ।’

सामूहिक आवासमा पानी, बिजुली, शौचालयको सुविधा रहेको छ । करेसाबारीको पनि व्यवस्था गरिएको छ । सामूहिक आवासमा जानका लागि राम्रो बाटो बनाइएको छ । करेसाबारीमा आफूलाई चाहिने तरकारी उत्पादन गर्न सक्छन् । दिनभर रोजगारीका लागि जहाँ गए पनि साँझ आएर आफ्नै घरमा बस्ने सुविधा मिलेको छ । विपन्नले अर्काको घरमा बसेर भाडा तिर्ने समस्याबाट मुक्ति पाएका छन् ।

खजुरा गाउँपालिकाले अघिल्लो वर्ष सुकुम्बासीलाई २० वटा घर बनाइदिएको थियो । पालिकाले ८८ लाखमा गोहदनामा घर बनाएर सुकुम्बासीलाई दिएको थियो । यसपालि सुकुम्बासीलाई नभई घर नै नभएका व्यक्तिका लागि सामूहिक आवास बनाएको हो । गाउँपालिकामा रहेका घरविहीन मानिसलाई सामूहिक आवासमा राख्ने र उसले सकेसम्म पालिकाभित्र र नभए अन्यत्र मजदुरी गरे पनि साँझमा सुरक्षित तरिकाले बस्न पाउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्