काठमाडौंको महानगरको प्रमुखको लागि पाँच जनाको नाम सिफारिस



काठमाडौं ।

नेपाली कांग्रेस काठमाडौं नगरसमितिले काठमाडौं महानगरपालिकाको प्रमुखको लागि पाँच जनाको नाम सिफारिस सिफारिस गरेको छ । महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वारको घोषणा केन्द्रले नै गर्ने भए पनि आकांक्षी उम्मेद्वारको नाम पहिले नगरबाट सिफारिस हुनुपर्छ ।

नगर कार्यसमितिको बिहीबार बसेको बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखका लागि नगर सभापति नीलकाजी शाक्य, वर्तमान उपप्रमुख हरिप्रभा खड्की, कांग्रेस नेता प्रकाशमान सिहको पत्नी सिर्जना सिंह, प्रगतिमान रञ्जित र सुसन वैद्यको नाम सिफारिस गरेको हो । सत्तारूढ गठबन्धनबीच भएको सहमतिअनुसार काठमाडौं महानगरपालिकाको प्रमुख कांग्रेसको भागमा परेको छ ।

कांग्रेस विधानमा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उमेद्वार छनौट केन्द्रीय संसदीय समितिले गर्ने उल्लेख छ । प्रमुख र उपप्रमुखको लागि महानगरपालिका कार्यसमितिले सिफारिस गरेको एक महिलासहित बढीमा तीन÷तीन जनाको नाम पहिला प्रदेश कार्यसमितिमा जान्छ । प्रदेश कार्यसमितिले प्राप्त नाम आफ्नो राय सुझावसहित केन्द्रमा पठाउँछ । केन्द्रले महानगरपालिकाको उम्मेदवार निर्णय गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई उम्मेदवार घोषणा गर्नुपर्ने व्यवस्था छ । तर, कांग्रेसको केन्द्रीय संसदीय समिति अझै गठन भएको छैन ।

काठमाडौं नगरकार्यसमितिले काठमाडौं महानगरपालिकाको उपप्रमुखको लागि शुशीला ढकाल र डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ । सत्तारूढदल बीच काठमााडौं महानगरको उपप्रमुख एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । कांग्रेसको उम्मेद्वारीसम्बन्धी मुख्य छलफल गर्ने प्रमुख एजेन्डासहित आज शुक्रवार केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

कांग्रेस पदाधिकारीका साथै शीर्ष नेताहरू रहेको कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्छ । कार्यसम्पादन समितिको मुख्य काम भनेको केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठक बीचमा कार्यसमितिले गर्नुपर्ने काम गर्नेछ भने कार्यसम्पादन समितिले आफ्नो निर्णय केन्द्रीय समितिमा पेस गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछ । पार्टीको केन्द्रीय विभागको कामको समीक्षा पनि कार्यसम्पादन समितिले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्