इन्टर कोपा इटालियाको फाइनलमा



लन्डन  । 

इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज चम्कदा इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । मिलानोमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेग अन्तर्गत मिलान डर्वी भिडन्तमा एसी मिलानलाई ३–० ले पराजित गर्दै इन्टरले फाइनलमा स्थान पक्का गरेको हो ।

इन्टरले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल गर्दा एक गोल रोविन गोसेन्सको नाममा रह्यो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।खेलको चौथो मिनेटमा नै मार्टिनेजको गोलबाट इन्टरले सुरुवाती अग्रता लिन सफल भयो । उनले माटियो डरमिएनको पासमा गोल गर्न सफल भएका थिए । ४०औं मिनेटमा मार्टिनेजले जोआक्विन कोरेआको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

त्यसपछि निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी रोविन गोसेन्सले गोल गर्दै मिलान डर्वीमा जित पक्का गरे । ७९औं मिनेटमा इभान पेरिसिसको स्थानमा मैदान छिरेका गोसेन्सले मार्सेलो ब्रोजोभिकको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै फाइनलमा पुगेको इन्टरले अब उपाधिका लागि युभेन्ट्स वा फियोरेन्टिनाबीचको विजेतासँग ११ मे मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्