नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने



 काठमाडौं   । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन् ।
सदस्य–सचिव घिसिङकै अध्यक्षतामा सातै प्रदेशका सदस्य–सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ ।

हुन्छ कि हुँदैन भन्ने संशय नराख्नुहोला । आ–आफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु ।’ सदस्य–सचिव घिसिङले भने– ‘प्रतियोगिता र पूर्वाधारको व्यस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो । त्यसैले, पहिलोपटक बैठक बोलाइएको हो । बैठकले आगामी बोर्ड बैठकका लागि एजेन्डा तय गर्न पनि सहज हुन्छ । अन्तिम बोर्ड बैठक २०७५ सालमा बसेको थियो । त्यसपछि, बोर्ड बैठक बस्न सकेको छैन ।

मेरो नियुक्तिको अवधि ४ महिना बढी भए पनि मुद्दाका कारण काम गरेको १ महिना पनि भएको छैन । समन्वय समितिको बैठक आज बस्यो । अब बोर्ड बैठक पनि चाँडै बस्छ ।’सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी गराउँदै बैठकको मुख्य उद्देश्य नवौं राष्ट्रिय खेलकुद नै भएको बताए । उनले खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए ।

बैठकमा सहभागी प्रदेशका सदस्य–सचिवहरूले कर्मचारी व्यवस्थापन गरिदिनुपर्ने, पूर्वाधारको मर्मत सम्भार गर्नुपर्ने, छनोट प्रतियोगिताको विधि, प्रतियोगिता र पूर्वाधारमा समन्वय, आयोजक प्रदेशलाई १÷२ खेल थप्न पाउने प्रावधान बनाउनुपर्ने, एनआरएनलाई पनि समावेश गर्न पहल गर्नुपर्ने, ऐनमा भएका जटिलतालाई फुकाउनुपर्ने, खरिदलगायतका कुरा निर्देशिकामा स्पष्ट हुनु पर्नेलगायतका विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्