युवा साथीहरू आउनुस्, यो ब्रम्हाण्डमा एउटा भ्वाङ पारौं !



मैले ९ वर्ष लगाएर २२ औँ प्रयासमा, सरकारी सेवा प्रवेशको ३५ वर्षे उमेरहद पार गर्नै लाग्दा यसै वर्ष लोकसेवाको अधिकृत परीक्षामा नाम निकालें– नेपाल विद्युत् प्राधिकरणको प्रशासकीय अधिकृत (सातौँ) तहमा । विगत ५ महिनादेखि म विद्युत् प्राधिकरण अन्तर्गतको सबैभन्दा ठुलो जलविद्युत केन्द्र काली गण्डकी ‘ए’ जलविद्युत केन्द्रको प्रशासन प्रमुखको रूपमा कार्यरत थिएँ । २०७८ चैत २४ गते उक्त पदबाट राजीनामा गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाको ‘मेयर’ पदमा चुनाव लड्ने निर्णय गरेको छु ।

मैले तलब, भत्ता, इपिआर, ओभर टाइम गरी महिनामा लगभग सत्तरी हजार रुपैयाँ तलब भत्ता बुझ्ने गरेको छु । संचय कोष, अवकाश कोष, आवास तथा बिद्युत् सुविधा गरी लगभग पच्चिस हजार बराबरको थप सुविधा पनि मैले पाउने गरेको छु । मेरो जीवन एकदमै सहज तरिकाले चलिरहेको छ । मेरो वर्तमान पनि सुनिश्चित छ र भविष्य पनि । तर म र मेरो परिवार भन्दा पनि मेरो गाउँ र नगरप्रतिको जिम्मेवारी बोधले गर्दा मैले यो अस्वाभाविक निर्णय लिएको छु ।

यो निर्णय गर्दा मलाई डर नलागेको होइन । केही डर पनि लागेको छ र केही अत्यास पनि । तर डर र अत्यासको अगाडी टिक्नु नै साहस हो । फेरी कुनै चीजले साँच्चै अत्त्याउँछ भने त्यो एक पटक पर्खनैपर्ने चीज हो ! मेरो लागि जीवन कि त रोमाञ्चक यात्रा हो कि त केही पनि होइन । त्यसैले मैले यो साहस गरेको हुँ । मलाई सांसारिक प्रतिस्पर्धामा कुद्ने कुनै रहर छैन । म यो संसारमा एउटा अस्तित्व मात्र भएर बस्न चाहन्न । म त वास्तविक अर्थमा बाँच्न चाहन्छु । मेरो गाउँ र नगर बनाउने सपनाले मलाई जीवित भएको महसुस गराउँछ । त्यसैले म मेरो सपना पछ्याउन निस्केको हुँ ।

मलाई कि त फूल बनेर फक्रिनुछ । कि त सुगन्ध छरेर सिद्धिन म तयार छु । यो निर्णय लिएर मैले जीवनलाई एउटा बृहद कोणबाट हेर्ने प्रयास मात्र गरेको हुं । संसारप्रतिको दृष्टिकोण जति व्यापक हुन्छ, वैयक्तिक समस्याहरू त्यति नै गौण हुन्छन् । इच्छा जति कम हुन्छ, त्यति नै ज्यादा हुन्छ इच्छाशक्ति ! त्यसैले हाम्रो प्रयास सधैँ व्यक्तिगत इच्छा र आवश्यकता घटाउने र समाजप्रतिको जिम्मेवारी बढाउने तर्फ केन्द्रित हुनुपर्दछ भन्ने मलाई लाग्छ । शायद त्यही गरेका हुन् भगवान् राम र बुद्धले । रामले राज्य नत्यागेको भए, यो संसारमा मर्यादा भन्ने कुराको अस्तित्व कहाँ हुन्थ्यो र ? सिद्धार्थ गौतमले राजकाज नत्यागी बुद्धत्व कसरी प्राप्त गर्ने सक्थे र ? उनीहरूले पाइसकेको ऐश्वर्य त्यागे र त युग युगान्तवरसम्म संसारले उनीहरूको कृति गाइरहेछ ।

अनि चुनाव हारियो भने नि ? 
सबै युद्धहरू जित्नकै लागि लडिदैनन् भन्ने म जान्दछु । केही युद्धहरू यस कारण पनि लडिन्छन् कि संसारले थाहा पाउनु जरुरी हुन्छ कि– कोही बदलावको पक्षमा एक्लै युद्धमा भिडिरहेको थियो ।

म पनि यो चुनाव नजित्न सक्छु । सोचे जति भोट नपाउन सक्छु । तर सही सोच र असल नियतको मापन कहिल्यै सङ्ख्याले हुँदैन । यसको मापन त दृढताबाट हुन्छ । म दृढ छु । यो निर्णयबाट मैले के पाउँछु वा के गुमाउँछु भन्ने बारे मलाई रत्तीभर चिन्ता छैन । म सँग त केवल मेरो गाउँ र नगर बदल्ने आशा छ । भावी सन्ततिको भविष्य उज्ज्वल हुनेछ भन्ने विश्वास छ । जबसम्म आशा हुन्छ, तबसम्म हारिँदैन भन्ने कुरा मैले बुझेको छु ।

म एउटा किसानको छोरो हु । जमिनसँग जोडिएको छु । खसे पनि जमिनमै खस्नेछु । त्यसले मलाई कुनै पीडा हुनेछैन ।  मेरो आवश्यकता बिहान बेलुकाको दुई छाक खाना न हो  ।  त्यति आवश्यकता पूरा गर्न म  मेरो पुर्ख्यौली बारीमा हलो चलाउँला । सङ्घर्ष गरुँला । यो देश बदलेन भने, मेरा सन्ततिले अझै बढी दुख पाउने नै छन् । के भो त, उनीहरूलाई दुई गाँस खान र परिश्रम गर्न सिकाउन म पनि दुखै गरुँला ।

बनेपा बदल्ने मेरो सपना 
२३ वर्ष अघि म घरबाट ५ किमी टाढा बनेपा बजारमा अवस्थित स्कुल जान्थेँ  । नजिकै राम्रो सामुदायिक विद्यालय नहुनुको बाध्यता थियो त्यो । धुलाम्य बाटो हिँडेर स्कुल पुग्थेँ । बनेपा बजार र पुण्यमाता खोलाको फोहोर देखेर मेरो  आँखा बिझाउँथ्यो । बसपार्कको गन्धले मलाई रिंगटा लाग्थ्यो । प्राचीन नगर बनेपाका प्राचीन सम्पदा चण्डेश्वरी र उग्र चण्डी (नाला भगवती) माताको संरक्षणमा गरिएको उपेक्षा देखेर म चकित पर्थेँ । त्यति महत्वपूर्ण भईकन पनि त्यी मन्दिरको गुमनामी देखेर म छक्क पर्थेँ । चर्कँदो द्वन्द्वबिच गाउँका युवाहरु गाउँघर नै रित्तिने गरी बिदेसिएको देखेर म  नरमाइलो मान्थेँ ।

सामुदायिक विद्यालयहरूको दुरावस्था । राजधानीसँग जोडिएको तर स्वास्थ्य सेवामा जनताको पहुँच सहज नभएको अवस्था । नगरमा व्याप्त भ्रष्टाचार, घुस खोरी, कमिसनखोरी, नातावाद, कृपावादको चर्चा गल्ली गल्लीमा सुन्दै म हुर्किएँ । २३ वर्षपछि म वयस्क भएर फर्केको छु । तर बनेपा उस्तै छ ।

२३ वर्षपछि पनि बनेपा उस्तै छ । बनेपाको फोहोर उस्तै छ । बिहे गरेको पर्सिपल्ट आफ्नी दुलही छोडेर बिदेसिनुपर्ने युवाको कथा उस्तै छ । चाडबाडमा सन्तानलाई सम्झेर आँसु खसाल्नुपर्ने आमाबुवाको व्यथा उस्तै छ । सामुदायिक विद्यालयहरूको दुरावस्था उस्तै छ । उपचार गर्न नसकेर/नपाएर मर्नुपर्ने जनताको बाध्यता उस्तै छ । उपेक्षित उग्र चण्डी र चण्डेश्वरी माताको चित्कार उस्तै छ ।

नगरपालिकाको पुरानो ढर्रा उस्तै छ । सरकारी  रवैया उस्तै छ । कुशासन उस्तै छ । भ्रष्टाचार, घुस सोरी, कमिसन खोरी, नातावाद, कृपावादको संस्कार अझै झ्याँगिएको छ । जनप्रतिनिधिले आफ्नो ठाउँमा बजेट पार्न पहल गर्ने बाहेक अन्य काम नदेखेपछि ब्यबस्थित र सन्तुलित पुर्वाधार विकास हुने त कुरै भएन । यो सब टुलुटुलु हेरेर सुविधा भोगी जीवन बिताउने सामर्थ्य ममा छैन । यही अवस्थालाई बदल्न म फर्केको हुँ ।

म बनेपालाई एउटा यस्तो नगर बनाउन चाहन्छु जसलाई आफैँले प्रत्येक दिन हेर्दा आँखा नबिझाओस् । म बनेपालाई एउटा यस्तो नगर बनाउन चाहन्छु जसलाई सम्झिँदा बनेपावासीको छाती गर्वले ढक्क फुलोस् । यही हो मेरो सपना । म मेरो यही सपना पूरा गर्न फर्केको हुँ ।

देश बदलेको हेर्ने हाम्रो सपना 
हामी नेपालीलाई एउटा भ्रम छ कि– एक दिन एउटा चमत्कारिक नेता आउनेछ र हाम्रो देशलाई सम्पूर्ण दुखकस्टबाट मुक्त गर्नेछ । त्यो भ्रममा हामी नपरौं । यो देश त्यसरी कहिल्यै बदलिने छैन । यो देश कमीकमजोरी सहितका तपाईंहामी जस्तै हाडछाला भएका युवाहरू मिलेरै बदलिने छ ।

बर्षौ राजनीतिक दलको झोला बोक्ने प्रणालीबाट कुनै अलौकिक नेताको उत्पत्ति हुनै सक्दैन । भएपनि त्यस्तो नेतृत्वलाई फुल्नै नदिई निमोठिनेछ । उसलाई छिर्के हानिनेछ । लडाइनेछ । त्यसैले अब हामीले फरक कोणबाट सोच्नुपर्ने बेला आएको छ ।

हामीले हाम्रा नेताहरूलाई पटक–पटक पर्खीसकेका छौँ । हामी पटक–पटक एउटै प्रयोग गरेर फरक नतिजाको अपेक्षा गरिरहेका छौँ । जुन असम्भव छ । कसैले पनि आफ्नो औकात, हैसियत, क्षमता भन्दा माथिको काम गर्नै सक्दैन । पानीमा पौडिने माछाले रुख कहिल्यै चढ्न सक्दैन – लाख कोसिस गरे पनि । व्यक्तिगत, दलगत, स्वार्थ समूहगत लाभ हानी हेर्ने नेतृत्वले समग्र देशको स्वार्थ सोच्नै  सक्दैन । ‘के सही’ भन्दा पनि ‘को सही’ भन्ने झिनाझप्टीमा लागिरहने साँघुरो सोच भएका नेताले यो देश बदल्नै सक्दैन ।  यो कुरा हामी बुझौँ । यो देश बदल्ने सबैभन्दा राम्रो अवसर ३० वर्ष अगाडी थियो । दोस्रो राम्रो अवसर यही वर्ष हो– २०७९ साल । मेरो पुस्ताका युवाहरूको लागि यो देश बदल्ने पहिलो र अन्तिम अवसर नै यही हो ।

हामी हाम्रा सन्ततिको लागि कस्तो देश छोडेर जान चाहन्छौँ ? के हामी यो संसारमा आफ्नो पाइला छोडेर जान चाहन्नौँ ?  के हाम्रो जीवन त्यस्तो पदचाप छोड्न लायकको छैन ? हामी र हाम्रो भविष्य भयानक हुनु अघि नै यो देशलाई बदल्नु जरुरी छ । हामीले हरेक दिन गाँस, बास र कपासको चिन्ता गरेका छौँ । हरेक दिन बाँच्नको लागि सङ्घर्ष गरेका छौँ  । केही तयारी मर्नको लागि पनि त गरूँ । मर्ने तयारीबाटै त सुरु हुन्छ वास्तविक जीवन । यो संसारमा आफ्नो निशानी त छोडूँ । भावी सन्ततिको लागि बस्न लायक देश त बनाइदिऊँ । सबै मानिस मर्छन् तर सबै वास्तविक रूपमा बाँच्दैनन् । आउनुस् हामी हाम्रो आफ्नो वास्तविक जीवन बाँचौँ । सार्थक जीवन बाँचौँ । कसैको  गुलाम बनेर होइन, आफ्नै मर्जीको मालिक बनेर बाँचौँ ।

जब जीवन सुविधाजनक हुन्छ, तब त्यसबाट निस्कन गाह्रो पर्छ । सुनको पिँजडामा सबै कुरा प्राप्त गर्दै गर्दा हामी त्यहीँ रमाइरहेका हुन सक्छौँ । तर हामी पिँजडाभित्र कैद हुन् जन्मेका होइनौँ । हामी त खुल्ला आकाशमा स्वतन्त्र र निर्भीक उडान भर्न जन्मेका हौँ । त्यसैले हामी सुविधाभोगी नबनौँ । सुविधाका जन्जिरहरू तोडौँ । र खुल्ला आकाशमा उडौँ ।

यदि यो देश बदल्ने नै हो भने, कम्तीमा पनि आफ्नो दैनिक जीवनयापन सहज हुने र गाँस, बास र कपासको जोहो गर्न धौधौ नहुने युवाहरूले यत्ति साहस गर्नै पर्छ । यो देशमा बदलावको जग हाल्न ७५३ वटै स्थानीय तहको नेतृत्वको लागि ७५३ जना साहसी युवाहरू अगाडी आउनु जरुरी छ । युवाहरूले आफ्नो विवेक प्रयोग गर्नु जरुरी छ । र युवाहरूले परिवर्तनको पक्षमा मत दिने साहस गर्नु जरुरी छ ।

यो पटकको स्थानीय तहको चुनावमा ७५३ वटै स्थानीय तहको नेतृत्वको लागि देशै भरी स्वतन्त्र उम्मेदवारहरू उठौँ ।  पुरानो राजनीतिक ‘सिन्डिकेट’ तोडौँ । विकल्प कुर्दै नबसौँ । आफैँ विकल्प बनेर हेरौँ । विकल्प बन्न साहस गर्ने युवाहरूलाई मत दिने साहस गरौँ । हामीले हाम्रो राजनीतिलाई मात्रै हैन, समाजलाई पनि नयाँ बाटो लानुछ । देशमा आशा जगाउनु छ । अरूलाई सत्तोसराप  गर्ने राजनीति होइन, विकासको मोडलबारे छलफल गर्ने राजनीति गर्नु छ । देशको प्रणाली बदल्नु छ । थिति बसाल्नु छ।  इतिहासले पनि देखोस्, देश खत्तम भयो, बर्बाद भयो भनेर मात्र नभनी केही पागल युवाहरू बिना कुनै संगठन आफ्नो गाउँ, नगर र देश बनाउन मैदानमा उत्रेका थिए ।

त्यसको लागि आवश्यक एक मात्र योग्यता हो– इमानदारिता । कसैले नहेरेको बेलामा पनि सही कुरा गर्न सक्नु नै इमानदारता हो । इमानदारिता भनेको सर्वोच्च नीति हो । इमानदारिता “ब्रान्ड” हो । इमानदारिताले मात्र बदलिने छ यो देश । हामी यो चुनावमा पहिलो पाइला चालौँ । बाटो आफैँ देखिँदै जानेछ । सही बाटो हिँडेको खण्डमा एउटा अलौकिक शक्तिले हामीलाई डोहोर्यौनेछ । यत्ति विश्वास गरौँ – जसको मति र गति सही छ, उसको रथ आज पनि श्रीकृष्ण भगवानले चलाउनुहुन्छ ।

आज त हामी सबै नालीमै छौँ । तर हामीमध्ये केहीले आकाशमा झिलमिल ताराहरू देखिरहेका छौँ । हामीलाई विश्वास छ – यो कालो रात सकिनेछ । घाम लाग्नेछ ।  उज्यालो हुनेछ ।  हामी डुबेको हिलो मैलो हट्नेछ । र, यो देशको दुर्दशाको अन्त्य हुनेछ ।

(लेखक गिरीले बनेपा नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ)

प्रतिक्रिया दिनुहोस्