राजधानीको सफाइ



सफा र सुन्दर बस्ती सभ्यताको परिचय हो । सफाइले सुन्दरता बढाउँछ भने सौन्दर्यले सभ्यता झल्काउँछ । सफा वातावारणले सृजनशीलता समेत बढाउँछ । फोहोर र प्रदूषित वातावरणले सृजनशीलतामा कमी आउनुको साथै नकारात्मक धारणाको विकास गर्दछ । काठमाडौं उपत्यका केही महिनाको अन्तरमा फोहोर नउठेका कारण दुर्गन्धित हुनेगर्दछ । फोहोर विसर्जन गर्ने स्थान व्यवस्थित हुन नसकेका कारण राजधानीवासीले बारम्बार यो नियति बहन गरिरहनुपरेको छ । फोहोर फाल्ने क्षेत्रका वासिन्दाको चाहनालाई स्थायी रुपमा सम्बोधन गर्न नसक्नु नै यस समस्याको मूल स्रोत देखिन्छ ।

एकातिर राजधानीमा समय–समयमा फाहोर नउठ्ने समस्या छ भने, अर्कातिर शहरी क्षेत्रमा बढ्दो जनसंख्याको चापका कारण फोहोरको परिमाण पनि अधिक छ । फोहोर हुने क्रम बढ्दो अवस्थामा रहेका कारण प्राकृतिक स्रोत–साधन पनि प्रदूषित हुने क्रम बढेको छ । मानवीय कारणबाट उत्पादन हुने फोहोरले खोला, नदी एवं अन्य प्राकृतिक सम्पदाको पहिचान नै लोप हुने अवस्था सृजना भएको देखिन्छ । उदाहरणको लागि काठमाडौंको मुख्य नदी वागमती, धोबीखोला, विष्णुमती लगायतलाई लिन सकिन्छ । मुलुकका लागि यो सुहाउँदो विषय होइन । नदी तथा खोलामा प्रदूषण बढाउनु असभ्यताको परिचय नै हो । मानवीय सभ्यता देखाउने शहरको पहिचानलाई फोहोरले नै धूमिल बनाएको छ, तर यसको उपचारमा जति भूमिका खेल्नसकिन्थ्यो, त्यो हुनसकेको छैन । सरकारले समयमा नै दीर्घकालीन नीति र योजना अघि नसार्दा काठमाडौं उपत्यकामा रहेका खोलानाला अतिक्रमणको चपेटासँगै प्रदूषित भएका छन् । खोलानालाको छेउवाउमा सहज ढंगले हिड्न नसक्ने अवस्था रहेको छ । खोलामा सीधै ढल हाल्ने काम सरकारले चाहेको भए रोकिन सक्थ्यो । तर सरकारले नीति–निर्माणमा ध्यान नदिदा खोलाको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको छ । अनाधिकृत रुपमा खोला तथा नदीमा ढल हाल्ने काम अझै रोकिएको छैन । नदीनालामा फोहोर फ्याक्ने कामलाई समेत नियन्त्रण गर्न सरकारले प्रभावकारी योजना अघि बढाउन सकिरहेको छैन । फोहोर फ्याक्नेलाई कडा दण्ड–जरिवानाको व्यवस्था गरिए पनि कार्यान्वयन नहुँदा खोलामा फोहोरको डंगुरसमेत बढ्दैगएको छ । हाल निर्माण भएको नदी किनाराको कोरिडोर क्षेत्रमा निर्वाध रुपमा फोहोर फ्याक्ने काम हुँदैआएको छ । यसको नियमन गर्ने निकाय भने मौन देखिएको छ । काठमाडौैं उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको काठमाडौं महानगरपालिकाले पर्याप्त ध्यान नदिंदा बेलाबेला सडकमै फोहोर थुप्रिदै आएको छ । काठमाडौं महानरपालिकाले फोहोरलाई स्रोतमै व्यवस्थापन गर्ने नीतिलाई प्रभावकारी रुपमा अघि बढाउन सकिरहेको छैन ।

स्रोतमै फोहोरको वर्गीकरण गर्ने कार्यलाई ध्यान नदिदा शहरको सडक किनारा र नदी किनारामा फोहोर थुप्रने गरेको छ । फोहोर व्यवस्थापनलाई दीर्घकालीन नीति र योजनाका साथ सम्बोधन गर्नु अनिवार्य देखिन्छ । काठमाडौं उपत्यकालाई सुन्दर र सफा बनाउने हो भने फोहोरको व्यवस्थापन र जलाधारको संरक्षणमै ध्यान दिनुपर्छ । राजधानी मुलुकको अनुहार हो, अनुहार नै फोहोर देखिए शरीर सफा होला भनेर कसले विश्वास गर्ने ?

प्रतिक्रिया दिनुहोस्