नीति–नियमले छुन नसकेको कर्णालीको पीडा



  • वीरबहादुर बम

हिमालबाट बहेको सिरेटोसँगै बुरबुर हिँउ परिरहेको हुन्छ । साँझ ६ बजेतिर कर्णालीकी एक किशोरी अप्सरालाई छाउ (रजश्वला) हुन्छ । उनी मनमनै कुरा खेलाउँछिन्– ‘यो आफ्नो पहिलो छाउ हो । लाज मान्नुपर्छ । आफूभन्दा सानो बहिनी वा छिमेकी बहिनीलाई छाउ भएको जानकारी दिनुपर्यो । घरपरिवार र आफन्तलाई मुख देखाउनुभएन । घर छोडेर टाढै बस्नुपर्यो । छाउ भएको दिन भविष्यको लोग्ने राम्रो भेटियोस् भनेर एक छाक भोकै बस्नुपर्यो । आफन्तले थाहा पाएमा अलच्छिनी भन्छन् । अहिले नै जानकारी गराएर भागेँ भने त ६ दिन मात्र पर बसे हुन्छ । अहिले केही नभनी भोलि बिहानै भनौँ भने थप एक दिन बाहिर बस्नुपर्छ । यसरी ढाँट्दा देउताको पनि डर हुन्छ । देउताले थाहा पाए भने मलाई बाँझो रहने समस्या हुन सक्छ ।’

यसरी आधा घन्टासम्म मनमनै कुरा खलाएपछि ती किशोरीले जे हुन्छ–हुन्छ भन्दै ८ वर्षकी सानी बहिनीलाई बोलाइन् । उनले बहिनीलाई भनिन्– ‘म छुई भएँ । म पाटीमुनिको लामो ओडारमा हुन्छु, भोलि बिहान खाना लियर आउनू ।’ यति भनेर उनी त्यहीँबाट भाग्छिन् । बहिनीले ‘अब कता जाने हो, सात्या (साथी) चाहिन्छ कि नाइँ ?’ भनेर सोध्दा उनी सुनेको नसुन्यै गरी आफ्नो बाटो लाग्छिन् । किनकि उनलाई थाहा थियो कि यो सानी फुच्चीलाई सुत्न आइज भन्नुको कुनै अर्थ छैन । उसलाई सुत्न बोलाउँदा हामी दुवैजना असुरक्षित हुन सक्छौं । छिमेकीले थाहा पाएमा जबरजस्तीको केस पनि हुन सक्ने शंका गर्छिन् उनी ।

साँझ छिप्पिइसकेकोले उनी कसैले थाहा नपाउने गरी सुटुक्क आफ्नै गोठमा सुत्ने प्रयास गर्छिन् तर गाई छुइने डर, त्यसमा पनि कुकुर भुकेपछि को आयो भनेर छिमेकीबाट चियोचर्चो हुन सक्छ भन्ने डर पनि भयो । त्यसैले आफ्नो गोठमा पुग्न नपाउँदै बीचबाटोबाटै फर्केर उनी गाउँको छेउको गोठमा पुग्छिन्, जहाँ अन्य व्यक्तिहरुको पहुँच हुँदैन । तर रारा राष्ट्रिय निकुञ्जनजिकै भएकाले मानिसको गन्ध पाएमा भालु सिकार गर्न आउन सक्छ भन्ने डरले उनलाई निद्रा नै परेन । उता उपियाँ, उडुस, बिच्छीले खाएर शरीर चिलाउने गर्दछ । रातिको चिसोले अप्सरालाई खोकी लाग्छ । घरका मान्छेले थाहा पाउने डरले उनी खोकी रोक्न खोज्छिन् तर खोकी आइहाल्छ । सो खोकी सुनेपछि पिसाब फेर्न बाहिर निस्केका बूढा मानिस गोठमा चियो गर्न पुग्छन् । उनले मोबाइलको टर्च बालेर हेर्छन् त अप्सरा पो गुटुमुटु भएर सुतेकी । ती बूढा मानिसलाई यौन उत्माद चढ्छ । के आपत् आइलाग्यो र सुतेकी भनेर सोध्नुको साटो टर्च निभाएर उनीमाथि जान खोज्छन् । चिसोले खुम्च्याएका उनका खुट्टा बूढाले सीधा बनाउन खाज्दा जे पर्ला भन्दै अप्सरा कराउँछिन्– ‘मिटया बाजे, तिमी यहाँ किन ? म छाउ भएकी छु, डर लागेर यता आयकी हुँ, तिमी यहाँबाट गइहाल ।’

अप्सराको कुरा सुनेर बूढा लाजै नमानी भन्छन्– ‘नातिनी, मलाई पनि जाडो भएको छ । मलाई आजको रात रमाइलोसँग यतै बिताउन देऊ ।’ बूढाले किन ढिलो गरे, कतै भालुले लग्यो कि भनेर उनकी श्रीमती व मिट्या (श्रीमान्को नाम) भन्दै बोलाउँछिन् । श्रीमतीले थाहा पाउने डरले मिट्या ट्वाइलेटबाट आएको निहुँ गरी घरतिर भाग्छन् । अप्सरा अरुले थाहा पाउने भए भनेर फेरि अर्को गोठतिर जान्छिन् । त्यति बेला बिहानको ४ बजिसकेको हुन्छ । चिसोको परबाह नगरी उनी २ घन्टासम्म सुत्छिन् । बाहिर काग कराउँदै हुन्छ । अप्सरा सुतेको गोठका धनी माने काका पल्लो गाउँबाट आएका मुर्माका बिरामीलाई झारफुक गर्दा १ घन्टा बितिसकेको हुन्छ । मान्छे नभएको बेला गोठबाट भागौंला भन्दाभन्दै ८ बजिसक्छ । अप्सरालाई अब त निस्कनै पर्छ भन्ने आँट आउँछ । गोठबाट निस्किएर बाटो लाग्दा आसपासका देख्नेहरुले को नाठो ल्याएर रातभर गोठमा बिताई भन्ने शंका गर्छन् । उता अघिल्लो दिनदेखिको भोकै भएकी छोरीका लागि आमाले सानी छोरीको हातमा रोटी पठाउँछिन् । दिदीले भनेको ओडारमा १ घन्टा कुर्दा पनि दिदीलाई नभेट्टाएपछि बहिनी घर फर्किन्छिन् । छोरी पहिलो छाउ भएको आमाले देख्न नहुने भएपछि फेरि छिमेकी ठूली डल्लीलाई त्यही रोटी दिएर पठाउिँछन् । डल्लीले बल्लतल्ल भेट्टाएपछि अप्सराले २ छाकको भोक–प्यास मेटाउँछिन् ।

अप्सराको बारेमा गाउँले सबैले अर्काको गोठमा सुत्न गएको नाना थरी शंका–उपशंका गर्छन् । अर्काको गोठमा किन सुत्न जानुपर्यो भन्छन् । ७ दिनसम्मको छाउपडीको बसाइमा कुनै मान्छेलाई अनुहार देखाउनु नहुने र बोल्न पनि नहुनेमै बित्छ । छाउपडीको बसाइ ७ दिन भएपछि माइनी लगाएर (खरानी–पानीमा लुगा धोएर), नुहाइधुवाइ गर्नुपर्छ । आमाले गाईको गहुँतमा पाती चोबेर छोरीलाई छर्केपछि कपालमा तेल हालेर मात्र घरभित्र पस्न दिन्छन् । ७ दिनसम्मको अनिदो र त्रासपूर्ण अवस्थालाई घरका बा–बज्यैले सान्वोना दिनु त कता हो कता, उल्टै अब यसको बैंस चढ्यो, चाँडै विवाह गरिदिनुपर्यो भन्न लाग्छन् । यस कुराले छोरी लाजले भतुक्क हुन्छन् र प्रतिकार गर्नसम्म पनि लजाएर अर्कातिर निसाउँछन् ।

अप्सराको पढाइ, भविष्य र सुन्दर जीवनको कुरा गर्नु त के, बैंस आइसक्यो भन्दै जोसुकैले पाउदेखि शिरसम्म हेरेर फोहोर शब्द बोली यौनदासी बनाउँछन् । उता परिवारका मानिसले छोरीको विवाहको उमेर आइसक्यो भन्दै अब २–४ वर्ष छोरीले घरको कामधन्दा गरेर आफ्नो दाइजो आफैँले कमाउनुपर्यो भन्छन् । यसरी किशोरीलाई घरेलु हिंसाको सिकार बनाउँछन् ।

छाउपडीको व्यथाको यो प्रतिनिधिमूलक घटना मात्र हो । छाउपडी प्रथा सुदूरपश्चिमका जिल्लाहरुमा जरो गाडेर बसेको छ । जतिसुकै कानुन र सचेतनाका कार्यक्रम बने पनि कसैको लागि कमाइ खाने भाँडोबाहेक केही हुन सकेको छैन । छाउपडीकै कारण कतिपय किशोरी र अर्काकी श्रमतीसमेत बलात्कृत भएको अवस्था छ । कतिपयलाई बाघ–भालुले खाएको, कतिपयलाई सर्पले डसेर मारेको, कतिपयले श्रीमान् र परिवारबाट अपहेलित भई आत्महत्या गर्नुपरेको घटना यत्रतत्र छन् । बुझेर पनि बुझ पचाइरहेको अवस्था छ । कर्णालीमा अनुपम संस्कृति र संस्कार छन् । तिनलाई नारा बनाएर मागिखाने भाँडो बनाइएको छ । तर यहाँको भोको पेट, अनिदो र अस्वस्थकर शरीरले काम गर्दा पनि कर्णालीको समस्याबारे सम्बोधन हुन सकिराखेको छैन । देशमा संघीय लोकतान्त्रिक व्यवस्था आइसक्दासमेत कर्णालीका समस्या ज्यूँका त्यूँ छन् ।

यहाँका नागरिक आफ्नो पीडा लुकाएर बस्न बाध्य छन् । कर्णालीमा के छैन र ? भोक र रोग उन्मूलन गर्ने प्रशस्त जमिन छ । अर्गानिक खाद्यवस्तु छ । कोरोना महामारीलाई रोकथाम गर्ने विशुद्ध अक्सिजन र बहुमूल्य जडीबुटी यार्सागुम्बा छ । गरिबीको अन्त्य गर्ने श्रमशक्ति छ । यत्तिको हुँदाहुँदै पनि कर्णालीको विकास र समृद्धिको खाका कोर्ने जनप्रतिनिधिको खाँचो छ । देशमा लोतन्त्र आए पनि, पात्र र प्रतिनिधि फेरिए पनि, कर्णालीलाई राज्यबाट हेर्ने सोचमा परिवर्तन आउन सकेको छैन । कर्णालीमा उपयुक्त हुने नीति र योजना बन्न सकेको छैन । बरु यहाँका टाठाबाठाबाट कर्णालीको ब्रह्मलुट भएको छ । राराताल, सेफोक्सुन्डो, हिल्सालगायतका महत्वपूर्ण आम्दानीका स्रोतमा रिसोर्ट खोलेर मनग्य आम्दानी उठाउन सफल भएका छन् । सोही ठाउँमा यसको सदुपयोग हुन सकेको छैन ।

कर्णालीको प्राकृतिक सुन्दताको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा–परिचर्चा हुँदाहुँदै पनि त्यहाँको सुन्दरता हेर्न जाने सडक, सञ्चार, सुरक्षा, गाइड आदिको समस्याले गर्दा पर्यटक आउन सकेका छैनन् । राराताललाई स्वर्गकी अप्सरा भनिएको छ । तर यहाँको व्यवस्थापन हुन सकेको छैन । यसै गरी माथि उल्लेख भएकी अप्सराजस्ता सयौं अप्सराहरुको छाउपडी प्रथा उन्मूलन हुन सकेको छैन । यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन । नीति नियमले मात्र छाउपडी प्रथा अन्त्य हुनेवाला छैन । त्यहाँका स्थनीयकै सोचमा परिवर्तन ल्याउने उपाय अवलम्बन गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्