ध्यान केन्द्रको निर्माणमा सघाउने उर्जा मन्त्रीको प्रतिबद्धता



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको नख्खुस्थित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको भवन निर्माणमा सरकारको तर्फबाट सहयोग गर्ने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइतबार सम्पन्न केन्द्रको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सो अवसरमा मन्त्री भुसालले ध्यान केन्द्रको निर्माणले असल, जिम्मेवार र कर्मठ नागरिक निर्माणमा टेवा पु-याउने विश्वास व्यक्त गर्नुृभयो ।सो सभामा भिक्षु कौण्डन्यले ध्यान ज्ञानको अभ्यासबाट सकारात्मक चिन्तन, शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै केन्द्रको भवन निर्माण कार्य पुरा गर्न सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामा प्रदेश नं ३ का प्रदेशसभा सदस्य शोभा शाक्यले दाताले धर्मचित्त राखेर जग्गा दान दिनुभएको उदाहरणले सर्वसाधारण सबैलाई सार्वजनिक हित सरोकारलाई दान दिनुपर्ने सन्देश प्रवाह गरेको धारणा राख्नुभयो ।सो अवसरमा केन्द्रका अध्यक्ष रामकाजी अवालेले मानिसहरुलाई आध्यात्मिक शान्ति, जीवनमा सकारात्मक उर्जा र सोचको विकासमा ध्यानको महत्व रहेको उल्लेख गर्दै ध्यानको अभ्यास, ज्ञानको चर्चा र देशविदेशबाट आउने बौद्ध भिक्षुहरु राख्न ध्यान केन्द्र निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । निर्माण कार्य एक वर्ष पुरा गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

समारोहमा केन्द्रका सल्लाहकार हेमबहादुर शाक्यले ध्यान केन्द्रको अवधारणालाई साकार तुल्याउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।समारोहमा केन्द्रको उपाध्यक्ष अजरमान जोशीले भवन निर्माण कार्यमा क्रममा हाल सम्मको प्रगति विवरण बारे जानकारी दिँदै ध्यान र ज्ञानको अभ्यास को लागि बनाउने क्रममा भवनको लागि श्रद्धापूर्वक सहयोग गर्न आग्रह गर्नुभयो ।

स्थानीय पूर्णचण्डी निवासी दाता दशलाल डंगोल र उहाँकी श्रीमती राममाया डंगोलले आफ्ना छोराहरु राम, रामकृष्ण र रत्न महर्जन लगायत परिवारका सबै सदस्यहरुको सम्मतिमा ध्यान केन्द्र बनाउन १ रोपनी १ आना जग्गा एक वर्ष अघि दान दिनुभएको थियो । म्यानमारका भिक्षु प्रज्ञाश्रीको प्रवचन सुनेर विहारको लागि जग्गा दान दिने निर्णय गर्नुभएको थियो । भवन निर्माणको लागि विभिन्न दाताहरुको सहयोगसंगै वाग्मती प्रदेश, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सहयोग गरेको थियो ।

अध्यक्षमा पुनः रामकाजी अवाले

सभाले केन्द्रको अध्यक्षतामा पुनः रामकाजी अवालेलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षद्वयमा अजरमान जोशी, शोभा शाक्य, महासचिवमा सुनील महर्जन, सचिवमा जितेन्द्रविलास बज्राचार्य, कोषाध्यक्षमा रामकृष्ण महर्जन, सहकोषाध्यक्षमा अनिल महर्जन रहनुभएको छ ।कार्यसमिति सदस्यहरुमा तीर्थ शाक्य ‘पौषा’ रुपकुमार शाक्य, मसिनमाया महर्जन, रोजिना शाक्य लगायत रहनुभएको छ नयाँ कार्यसमितिका पदाधिकारी र सदस्य मुख्य निर्वाचन अधिकृत हेमबहादुर शाक्य, काजीरत्न महर्जन र सुनील अमात्यलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्