१५ नर्सिङ कलेजको भर्ना रोकियो



Council for Technical Education and Vocational Training (CTEVT), Bhaktapur.

ईश्वरराज ढकाल, काठमाडौं

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा हिजो बुधबार सीटीईभीटीले सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा ४२ बमोजिम प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने भएकाले चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको बैठकबाट शैक्षिकसत्र २०७७–०७८ देखि उक्त तहका कार्यक्रम सञ्चालन नगर्ने नगराउने निर्णय भई उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित विश्वविद्यालयमार्फत जानकारी गराइसकिएको अवस्थामा भर्ना लिन नमिल्ने उल्लेख गर्दै पठाएको थियो ।सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, स्तर निर्धारण महाशाखाको अर्को सूचना जारी नभएसम्मका लागि भर्ना प्रक्रिया स्थगन गर्ने निर्णय गरेको थियो ।

यसअघि सीटीईभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै सय बेड अस्पताल भएका नर्सिङ कलेजलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन अनुमति दिन आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीलाई आग्रह गर्नुभएको थियो । लगत्तै मन्त्री पौडेलले मन्त्रालयमा आयोगका उपाध्यक्ष डा. गिरी, शिक्षा सचिव रामप्रसाद थपलिया, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, सदस्य–सचिव जीवनारायण काफ्लेसहितको बैठक बोलाएर पीसीएल नर्सिङमा भर्ना खोल्न आग्रह गर्नुभएको थियो । मन्त्रीको निर्देशनपछि सीटीईभीटीले सिट संख्या तोकेरै भर्नाको सूचना जारी गरेको थियो ।

सूचना जारी गरेलगत्तै नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, मोरङ, नेसनल मेडिकल कलेज पर्सा, बी एन्ड बी नर्सिङ कलेज ललितपुर, नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुर, एनपीआई नारायणी सामुदायिक हस्पिटल चितवन, कलेज अफ मेडिकल साइन्स चितवनलगायतका मेडिकल कलेजले भर्ना प्रक्रिया शुरु गरेका थिए । त्यसै गरी, भर्ना प्रक्रिया शुरु गर्ने अन्य कलेजमा अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स (अल्का हस्पिटल), ललितपुर, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौं, काठमाडौँ मोडेल हस्पिटल, स्कुल अफ नर्सिङ, काठमाडौं, मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स, ललितपुर, ओम हेल्थ क्याम्पस काठमाडौं रहेका छन् ।

त्यस्तै, मणिपाल कलेज अफ मेडिकल साइन्स कास्की, लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल पाल्पा, देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टर रूपन्देही र नेपालगन्ज नर्सिङ क्याम्पस, कोहलपुर, बाँकेमा भर्ना प्रक्रिया स्थगन गरिएको सूचनामा उल्लेख छ । भर्ना स्थगित भएकामध्ये काठमाडौं र त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित छन् । नेपाली सेनाद्वारा सञ्चालित नर्सिङ कलेजको समेत भर्ना रोखिएको छ ।

सूचनामा राष्ट्रिय चिकित्सा ऐन–२०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकूल भएकाले त्यस्ता शिक्षण संस्थामा विद्यार्थी भर्नासम्बन्धी भएका सूचना रद्द गर्न परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिएको छ ।

उक्त १५ वटा संस्थाको हकमा अर्को सूचना नहुन्जेलसम्मका लागि प्रशिक्षार्थी भर्ना प्रक्रिया स्थगन गरी उक्त शिक्षण संस्थामा भर्नाका लागि आवेदन गरेका आवेदक प्रशिक्षार्थीको हकमा आवेदन शुल्क फिर्ता दिने वा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका अन्य शिक्षण संस्थामा आवेदन गर्न चाहेमा समेत सहभागी हुन पाउने सूचनामा उल्लेख छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले यही मंसिर ८ गते शैक्षिकसत्र २०७८–०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीयतर्फको आवेदन फाराम भर्ने सूचना जारी गरेको थियो । सीटीईभीटीले आफ्नै सय बेडको अस्पताल भएका कलेजलाई भर्ना खोल्ने विषयमा सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्