एमाले महाधिवेशनमा थप सय जनाभन्दा बढी ट्राफिक परिचालन गरिने



न्युज अफ नेपाल, हेटौंडा ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो । यातायात प्रवन्ध समिति संयोजक कृष्ण भुर्तेलले महाधिवेशन उद्घाटनका दिन १० गते जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

मंसिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरेर ट्राफिक प्रहरीको थप जनशक्ति परिचालन गर्ने गरी समन्वय भएको भुर्तेलले बताउनुभयो । महाधिवेशन उद्घाटनका दिन आउने सवारीसाधनलाई व्यवस्थित गर्दै यातायातको सहज आवागमन गराउनका लागि गृहकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताउनुभयो ।

जिल्लामा हाल ४० जना ट्राफिक प्रहरीले काम गरिरहेका भन्दै थप एक सय जना जनशक्तिले ट्राफिक व्यवस्थापनको काम गर्ने प्रनि थापाले बताउनुभयो । उहाँका अनुसार महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट जाने सवारीसाधनलाई नवलपरासीको गैंडाकोटमा, पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनललगायत ठाउँमा नारायणगढ–मुग्लिन सडक हुँदै आउने सवारीसाधनलाई नेपाल ट्रष्टको कार्यालय, पश्चिम चितवन क्षेत्रबाट आउने सवारीसाधनलाई बेलचोक क्षेत्र र वागीश्वरी तथा चितवनकै कालिका नगरपालिकासहित स्थानबाट आउने सवारीसाधनलाई वीरेन्द्र क्याम्पसको नौ बिघा चौरमा व्यवस्थापन गरिनेछ ।

महाधिवेशन उद्घाटनका दिन सवारीसाधनलाई कुन तरिकाले सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको प्रनि थापाले बताउनुभयो । महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहित उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग भएको सबभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एमाले केन्द्रीय सदस्य बिनोद श्रेष्ठले बताउनुभयो ।

प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा भरतपुरमा गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले ५ लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माणको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार एकै स्थानबाट ५ लाख मानिसले उद्घाटनसत्र अवलोकन गर्नसक्ने नभएकाले बिभिन्न स्थानबाट लाइभ प्रसारण गरिनेछ ।

उद्घाटनसत्र लाइभ गर्न भिडियो क्यामेराका साथै कम्तिमा २ वटा ड्रोन क्यामेरासमेत प्रयोग गरिने श्रेष्ठले बताउनुभयो । श्रेष्ठले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताउनुभयो । सौराहामा बन्दसत्र हुने हल निर्माणको कामसमेत सुरु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार सम्मेललनमा अनुगमन समिति संयोजक काशीनाथ अधिकारीले महाधिवेशनका कामहरुको नियमित अनुगमन भइरहेको बताउनुभयो । समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्ति व्यवस्थापनसमेत गरिएको उहाँको भनाइ छ । महाधिवेशन तयारीको कामले गति समातेको भन्दै अधिकारीले जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम जारी रहेको बताउनुभयो ।

मंसिर १० गते हुने उद्घाटन सत्रमा सहभागी हुन बिभिन्न ६ स्थानबाट -याली निकाल्ने गरी तयारी भइरहेको अधिकारीले बताउनुभयो । गैंडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट -याली निकाल्दै व्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्