पर्यटन मन्त्रालयले भोलि पशुपतिमा योग शिविर चलाउने



विमल विष्ट, काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा भोलि मङ्सिर ५ गते आइतबार बिहान ५ बजे राष्ट्रदेव पशुपति नाथ क्षेत्रस्थित हंशमण्डपमा एक दिने योग शिविरको आयोजना गरिने भएको छ ।

भारतीय योग गुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ । मन्त्री आले र योग गुरु बाबा रामदेव तथा आचार्य बालकृष्णद्वारा संयुक्त दीप प्रज्वलन गरेर योग शिविर शुभारम्भ हुने भएको छ ।

उक्त योग शिविरकै दिन मन्त्री आलेले योग गुरु रामदेव तथा आचार्य बालकृष्णलाई राष्ट्र देव पशुपति नाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको मन्त्रालयका सह–सचिव डा।टोकराज पाण्डेयले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितीमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष हो ।” मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीहरूको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिइएको छ ।

उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्क रूपमा प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ । शिविरमा दसौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा रहेको छ ।

योग शिविर पश्चात् योग गुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । योग गुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराउनुभएको थियो । योग गुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्