१८ स्थानमा फोरजी टावर सञ्चालन भएपछि सेवाग्राही हर्षित



रामधन राई, खोटाङ ।

खोटाङको विभिन्न स्थानमा टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालनमा आएको छ । नेपाल टेलिकमले विभिन्न १८ स्थानमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि जिल्लाबासी हर्षित बनेका छन् ।

जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा दिक्तेलस्थित टेलिकमको कार्यालय लगायतको स्थानमा टावर सञ्चालन गरेको हो ।हाल, दिक्तेलबजारको रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडामा टावर सञ्चालन गरेको हो । यस्तै, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताउनुभयो । अन्य स्थानमा समेत चाँडै सञ्चालनमा ल्याउे तयारी गरिएको छ ।

नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको थियो । निर्माणाधीन अवस्थामा रहेका बाँकी दशवटा पनि चाँडै सञ्चालन गर्ने तयारी गरिएको प्रमुख मगरले जनाउनुभयो ।
नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् ।

जिल्लामा इन्टरनेट सेवालाई समेत प्रभावकारी बनाउन पहल थालेको टेलिकमले पछिल्लो समय फाइबर विस्तारको कामसमेत तीव्रगतिमा अगाडि बढाएको छ ।इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील सञ्चारकर्मी मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्