‘जीउज्यान धरापमा पार्नुपर्ने अवस्था थियो’ : श्रेष्ठ



विद्यालयस्तरदेखि करातेमा लागेका अशोककुमार श्रेष्ठले क्योकुसिन करातेलाई अहिलेसम्म निरन्तरता दिइरहनुभएको छ । काभ्रेको बनेपामा सन् १९७६ (वि.सं.२०३३) मा जन्मेका श्रेष्ठ खेलसँगै सामाजिक कार्यमा समेत लागेर असहाय, पीडित, आर्थिक कमजोरलगायत खेलाडीलाई सहयोग गरिरहनुभएको छ । उहाँ फुल कन्ट्याक्ट करातेको ब्लयाक बेल्ट छैटौं डान हुनुहुन्छ । उहाँले २०१७ मा वल्र्ड क्योकुसिन काई कराते संस्थाबाट छैटौं डानको डिग्री हासिल गर्नुभएको थियो । उहाँ अन्तर्राष्ट्रिय स्ट्रक्चर, रेफ्री, प्रशिक्षकसहित नेपाल सरकारको कर्मचारीसमेत हुनुहुन्छ । उहाँले यही खेल क्षेत्रमा लागेर विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गर्नुभएको छ । नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघका अध्यक्ष तथा विश्व क्योकुसिन काई कराते महासंघ जापानका उपाध्यक्ष श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि संवाददाता फिरोज राजोपाध्यायले गरेको कुराकानी ।

तपाईंले खेलमा कहिलेबाट शुरुआत गर्नुभयो ?

सायद, २०४५/४६ तिर विद्यालयस्तरदेखि नै क्योकुसिन कराते खेल्न शुरू गरेको थिएँ । एसएलसी दिएपछि रंगशालामा आएर खेलेको थिएँ । पछि फेरि म आफ्नै जन्मशहर बनेपामा फर्केर प्रशिक्षकको रूपमा करिअर शुरू गरेको थिए । मैले २०५१ सालमा बनेपामै भएको जिल्लाव्यापी खुला फुल कन्ट्याक्ट करातेमा स्वर्ण पदक जितेँ ।

भन्नुपर्दा यहीबाट मेरो कराते खेलमा निरन्तरता भएको हो । यसपछि २०५१/५२ सालमा जावलाखेलमा भएको प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा ५० केजी तौलसमूहमा स्वर्ण जितेँ । यो पदकले यस खेलप्रति मेरो आकर्षण झनै बढ्यो र खेलिरहन प्रेरणादायी पनि पाएँ ।

खेलमा लाग्दा तपाईँलाई कति सजिलो र कति गाह्रो भएको थियो ?

जुनसुकै क्षेत्रमा लाग्दा सजिलो र गाह्रो दुई पाटो भइहाल्छ । वास्तविकता यही हो कि जुनसुकै क्षेत्रमा सजिलो भन्दा गाह्रो धेरै हुन्छ । हरेक क्षेत्रमा तगारो आउँछ, खुट्टा तान्नेहरू हुन्छन्, तर त्यसलाई पन्छाउँदै जानै पर्छ । खेलमा पनि यस्तै हुन्छ ।

मैले खेल्दाखेरि नेपालमा खेलेर जीविकोपार्जन गर्न कठिन नै थियो । जीउ ज्यान धरापमा पार्नुपर्ने, घाउ, चोटपटक लाग्ने, लुगा च्यातिने हुन्छ । त्यतिबेला मैले शुरू गरे जतिबेला खेलाडीलाई केही सुविधा नै थिएन ।

मैले त्यही वर्ष ब्ल्याकबेल्ट उपाधि हासिल गरेको थिएँ । शिल्ड वा पदक जित्यो, बोक्यो घरमा सजावट गरियो, तर अहिले यही पदक शिल्ड खिया लाग्न थालिसके । यस्तो बेला मैले मार्सल आर्टमा शुरू गरेको थिएँ । तर, खेल्न गाह्रै थियो ।

तपाईंको पदकको चाङमा दक्षिण एसियाली खेलकुद (साग) को पदकचाहिँ किन नभएको नि ? खेल्न कोशिस नगर्नुभएको हो कि ?

क्योकुसिन करातेको आफ्नै एसियाली प्रतियोगिता हुन्छ । यस विधाको छुट्टै विश्व प्रतियोगिता पनि हुन्छ । यसको आफ्नै प्रतियोगिता छ भने मैले साग वा एसियाली वा ओलम्पिकमा खेल्न किन कोशिस गर्नु भन्ने पनि लाग्छ ।

अर्को फुल कन्ट्याक्ट करातेलाई नेपालमा त्यति राम्ररी फस्टाउन पनि दिएन । नेपालमा सितोरियो करातेलाई मुख्य करातेको रूपमा हेर्ने दृष्टि छ । सितोरियो भनेपछि कराते भन्न र बुझ्न थालेको छ । यसैले पनि मेरो सागमा सहभागिता नभएको भन्नुपर्ला ।

नेपालमा फुल कन्ट्याक्ट कराते मारमै परेको हो त ?

त्यस्तै भन्नुपर्ला, नेपालमा फुल कन्ट्याक्ट कराते नफस्टाउनुको कारण ठूलै घटना थियो । यो घटनाले फुल कन्ट्याक्ट करातेप्रति वितृष्णा भएको प्रस्ट्याएको थियो । २०५१ सालको त्यो घटनाले फुल कन्ट्याक्ट कराते नेपालमा कमजोर बनाउन खोजिएको थियो ।

त्यतिबेला राखेपले करातेतर्फ ७५ जिल्लामै प्रशिक्षक मागेको थियो । सितोरियो करातेका प्रशिक्षकलाई जागिर दिइयो, तेक्वान्दोका प्रशिक्षकलाई जागिर खुवाइयो ।

तर, फुल कन्ट्याक्ट करातेका प्रशिक्षकलाई जागिर दिइएन । यो नै विडम्बना भएको थियो । फुल कन्ट्याक्ट कराते पछि पर्नु यो घटना टर्निङ प्वाइन्ट बनेको थियो ।

कतै नेतृत्वकै कमजोरी भयो कि ?

नेतृत्वकै गल्ती नै ठूलो कमजोरीको रूपमा अगाडि आयो । उहाँहरूले बुद्धि पु-याएर आफ्ना प्रशिक्षकलाई जागिर खुवाउन सकेको भए सायद अहिले यस्तो अवस्था हुने थिएन । म यसले गर्दा निराश पनि भएँ । भन्नै पर्दा फुल कन्ट्याक्ट कराते नेपालमा लोकप्रिय नै छ ।

जागिर नपाएपछि तपाईंलाई ‘यो खेल छाडूँ’ जस्तो लागेन ?

त्यस्तो त मनमा आएन । राखेपले फुल कन्ट्याक्ट करातेका प्रशिक्षकलाई जागिर नदिएपछि म विक्षिप्तचाहिँ भएको थिएँ । त्यसैले, मैले लोकसेवा लडेर सरकारी जागिर खाएँ । भविष्य त सुरक्षित गर्नुप-यो भन्ने लाग्यो ।

खेल छाड्न भने सकिनँ । हुन त मैले खेलेर पदक र प्रमाण–पत्रको चाङ लगाएँ । तर, यसले दैनिक जीवनयापन गर्न समाधान भने भएन । सरकारले पनि केही नगर्ने, त्यो बेला प्रशिक्षकको जागिर खाएकाहरू अहिले पनि करारमै छन् ।

यस्तो देख्दा मैले अहिले हेर्दा बेलैमा बुद्धि पु-याएको महसुस भएको छ । कमसेकम सम्बन्धित निकायले करारवालालाई स्थायी गर्ने प्रक्रिया त चलाउनुपर्छ नि ।

यो खेलमा लागेर मेरो सपना पूरा भएको छ । खेलाडी उत्पादन गर्न पाएको छु । सामाजिक कार्य गर्न पाएको छु । अन्तर्राष्ट्रियबाट अवार्ड पनि पाएको छु । स्विट्जरल्यान्डको अन्तर्राष्ट्रिय मार्सल आर्टस् संघबाट ‘सिनियर मास्टर अफ द इयर २०१९’ जस्तो प्रतिष्ठित गोल्ड अवार्ड पाएँ । यो ठूलै अवार्ड हो ।’ अहिलेसम्म विदेशीबाट यस्तो अवार्ड नेपालमा कसैले पाउन सकेका छैनन् । यो अवार्डले अझै मलाई यो खेलप्रति लाग्न प्रेरणा दिइरहेको छ ।

लोकप्रिय विधा भन्नुहुन्छ, टोक्यो ओलम्पिकमा यो विधालाई किन सामेल गरेन त?

क्योकुसिन कराते जापानको लोकप्रिय विधाको खेलमै पर्छ । जापानमा साँढेलाई पन्च हानेर ढाल्ने यस्तो कराते हो । त्यहाँ यति लोकप्रिय भयो कि यसले अरू विधालाई निष्क्रिय तुल्याइदियो ।

करातेमा यो विधालाई राख्ने पनि कुरा भएको थियो । सायद पछि यसको नियमले गर्दा हटाएको थियो । यसमा अरू खेलमा जस्तो अंक, विश्राम लिने, बे्रक भन्ने हुँदैन । पहिलो चरणमा तीन मिनेट हुन्छ ।

दोस्रो र तेस्रो चरणमा २/२ मिनेटको हुन्छ । पहिलो तीन मिनेट लडिरहनुपर्छ । अंक आएर रोक्ने नियमै छैन । अब आउने ओलम्पिकमा यो विधालाई राख्ने कोशिस भइरहेको छ ।

यसलाई साग, एसियन वा ओलम्पिक खेल गर्न कस्तो नियम परिमार्जित गर्नुपर्छ त ?

फुल कन्ट्याक्ट कराते हिंसात्मक भएको छ । खेलमा हिंसा हुनु हुँदैन भन्ने हो । यो विधा अलि व्यावसायिक भएको छ, जस्तै डब्ल्यूडब्ल्यूई रेस्लिङ । रेस्लिङमा जस्तै यसमा प्रहार हुन्छ त्यसैले, म यो खेललाई योद्धाको खेल पनि भन्छु ।

यसमा लडिरहनुपर्छ, यो खेल अलि घमण्डी टाइपको भयो कि जस्तो पनि लाग्छ । यसलाई केही परिमार्जित गरेर नियमबद्ध बनाएर समावेश गर्न सकिन्छ । नेपालमा पनि सागमा यो विधालाई राख्न राज्यले सोच परिवर्तन गर्नुपर्छ ।

केही नियम परिमार्जित गरेर राख्न सकिन्छ । यसको लागि राज्यले वा सम्बन्धित निकायले फुल कन्ट्याक्ट करातेलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो भनाइ छ ।

तपाईंले यो खेलमा लागेर के–कस्ता उपलब्धि हासिल गर्नुभयो ?

यो खेलमा लागेर मेरो सपना पूरा भएको छ । खेलाडी उत्पादन गर्न पाएको छु । सामाजिक कार्यमा लाग्न पाएको छु । अन्तर्राष्ट्रियबाट अवार्ड पनि पाएको छु।

स्विट्जरल्यान्डको अन्तर्राष्ट्रिय मार्सल आर्टस् संघबाट ‘सिनियर मास्टर अफ द इयर २०१९’ जस्तो प्रतिष्ठित गोल्ड अवार्ड पाएँ । यो ठूलै अवार्ड हो ।’ अहिलेसम्म विदेशीबाट यस्तो अवार्ड नेपालमा कसैले पाउन सकेका छैनन् । यो अवार्डले अझै मलाई यो खेलप्रति लाग्न प्रेरणा दिइरहेको छ ।

म एकदम यो खेलमा लागेर सन्तुष्ट नै छु । मलाई कुनै पछुतो लागेको छैन । म मार्सल आर्टस्मा करिअर शुरू गर्दाचाहिँ आर्मी वा पुलिसमा गएर देशको सेवा गराैँ भनेर सोचेको थिएँ ।

आर्मी वा पुलिसमा जान नसके पनि यही खेलबाट मैले सेवा गरिरहेको छु । मार्सल आर्टमा लागेर मैले प्रशिक्षार्थीबाट ठूलो सम्मान पाएको छु । यो महसुस गर्दा पनि खेलबाट उपलब्धि मात्रै पाएको छु ।

तपाईंको सपना के हो, अलि खुलस्त गरिदिनुहुन्छ कि ?

मेरो सपना भन्नाले मैले बच्चैदेखि जापान जाने रहर थियो । सन् २०१२ तिर मलाई जापान जाने अवसर पाएँ पनि । मैले जापानमा भएको सेमिनारमा भाग लिन पाएको थिएँ । नेपालका मार्सल आर्टस्का खेलाडीले जापान जान भाग्य लिएर आउनुपर्छ भन्छ ।

यसमा म भाग्यमानी परेँ । जापानको दाई निप्पन बुँदोकाई, जुन त्यहाँको सरकारी महासंघ हो । त्यसअन्तर्गत सेमिनारमा विभिन्न विधाका प्रमुख हस्तीले कक्षा लिनुभएको थियो । यो सेमिनारमा अमेरिका, रुस र जर्मनीलगायत अन्य विभिन्न देशका प्रतिनिधित्व थिए । यसमा म नेपालबाट सामेल भएँ ।

म सेमिनारमा साथीहरूको अलि अलि सहयोग लिएर आफ्नै पहलमा जापान गएको थिएँ । मैले त्यहाँ काता प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गरेको थिएँ । यो क्षणले मलाई यो खेलका लागि केही गर्नुपर्ने महसुस भयो । यतै फर्केर यो खेललाई निरन्तरता दिएँ ।

शुरूदेखि खेलसँगै प्रशिक्षणमा पनि लाग्नुभयो ? फेरि सरकारी जागिर पनि खानुभयो । करातेलाई कसरी समय दिनुहुन्छ ?

मैले खेलसँगै प्रशिक्षण पनि शुरू गरेँ । मैले खेलिरहेँ पनि, प्रशिक्षण पनि दिइरहेँ । हुन त मलाई प्रतिस्पर्धा गर्न मन लाग्छ, प्रतिस्पर्धा पनि गरेँ । तर, मैले दुवै एकैपटक गरे पनि सन्तुलित गरिरहेँ ।

खेलमा लगाव भए पनि मलाई २०५१ कै घटनाले यस खेलप्रति वितृष्णा पनि बनाइदिएको थियो, यो पनि सत्य नै हो । राखेपले फुल कन्ट्याक्ट करातेलाई जागिर नदिएपछि मैले सरकारी जागिर खाएको हुँ । त

र, पहिलेदेखि नै खेलमा लागेको हुँदा मैले करातेलाई छाड्न सकिनँ र समय निरन्तरता दिइरहेँ । यसैको फाइदा यो भयो कि मैले खेलाडी पनि धेरै उत्पादन गरिसकेँ । आफ्नै छुट्टै संघ पनि दर्ता गर्न सफल भएँ । अहिले संघको शाखा २५/३० जिल्लामा विस्तारित भइसकेको छ । शनिबार बिदाको दिन पनि खेलमै लगाएको छु ।

तपार्इंको संघले करातेका लागि के गरिरहेको छ ?

मैले सरकारको अनुमति लिएर नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको नाममा २०७२ सालतिर राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गराएको थिएँ ।

संघ दर्ता गरेपछि प्रत्येक वर्ष प्रतियोगिता आयोजना गरिरहेको छ । संघले प्रतियोगिता आयोजना गर्ने, खेलाडीलाई प्रशिक्षण गर्ने मात्र होइन कि सामाजिक कार्यमा पनि उत्तरदायित्व बनाइरहेको छ ।

सामाजिक कार्य भन्नाले ?

संघ खेलकुद विधा भएर पनि सामाजिक कार्यमा पनि लागिरहेको छ । प्रायः खेलाडी केही न केहीमा कमजोर नै छन् । त्यसैले, खेललाई मात्रै हेरेर नभएपछि मानवीय हिसाबले जाने मैले निधो गरे । संघले खेलाडीको शैक्षिक र आर्थिक स्थिति उद्धार गर्नुपर्छ भन्ने लागेकोले नै संघतिर लागेको हुँ ।

मैले आफ्ना प्रशिक्षार्थीलाई कसरी माथि उठाउने नै संघको पहिलो प्राथमिकतामा राखेको छु । त्यसमा मैले सहयोग गरिरहेको छु । कोही पनि शिक्षाबाट वञ्चित हुनुपरेको छैन । आर्थिक कमजोरी भएकालाई आर्थिक सहयोग गरेको छ ।

संघले विभिन्न जिल्लामा संघअन्तर्गत प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीका लागि निगरानी पनि राखेको छ । कहाँ कसलाई के कमी भइरहेको छ उसका लागि संघले सहयोग गरेको छ ।

संघले १० जेहेन्दार प्रशिक्षार्थीलाई कलेज पढाइदिएको छ । लकडाउनकै कुरा गरौं यो बेला सबै क्षेत्र ध्वस्त भएको सबैलाई थाहा नै छ । यस्तो बेला मैले करिब १५ सय प्रशिक्षार्थीलाई रासन उपलब्ध गराएँ ।

प्रशिक्षणसँगै सामाजिक सहयोग गर्न आयस्रोतको कसरी बन्दोबस्त गर्नुहुन्छ?

संघको कुनै अक्षयकोष छैन । यसले आर्थिक स्रोत जुटाउन गाह्राे त पक्कै हुन्छ । संघ र मेरो एउटै लक्ष्य भनेको सहयोग गर्ने अर्जुनदृष्टि पनि हो । यसका लागि संघको कार्यसमितिका पदाधिकारीबाट सहयोग गर्न आर्थिक स्रोत जुटाउने हो ।

समाजसेवा गर्न चाहने धेरै छन् । उहाँहरूबाट पनि आर्थिक स्रोत जुटाउने गरिन्छ । साथीहरूबाट, हाम्रा अन्तर्राष्ट्रिय गुरु, साथीहरूले पनि सहयोग गर्नुहुन्छ । छोटकारीमा भन्नुपर्दा हामीलाई मनकारी साथी र मनकारी संस्थाले सहयोग गर्नुहुन्छ । रा

ष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि केही हदसम्म सहयोग गरेको छ । पहिले पहिले त गरिँदैनथियो, अहिले सदस्यसचिव रमेश सिलवालज्युले हामीलाई सहयोग गर्नुभएको छ । हामीले काम देखाएकोले पनि उहाँले सहयोग गर्नुभयो । सहयोग पाउन काम पनि देखाउनुपर्ने रहेछ भन्ने मलाई लाग्यो ।

क्योकुसिन करातेलाई उत्थान गर्न तपाईँले कस्तो योजना बनाउनुभएको छ ?

म वल्र्ड क्योकुसिन करातेका उपाध्यक्ष पनि भएको नाताले यो विधालाई माथि उकास्नका लागि योजना बनाइरहेको छु । यसको नियम परिमार्जित गरेर विश्वमै एउटै खाका बनाउनुपरेको छ । यो फुल कन्ट्याक्टको ओलम्पिकमा भाग लिने खालको नियम चाहियो ।

त्यो नियमका लागि मैले पहल गरिरहेको छु । मार्सल आर्टस्मा नेपाली खेलाडीको प्रदर्शन निकै उत्कृष्ट छ । यसैले यो विधालाई सागमा समावेश गराउन पहल गरिरहेको छु । खेलाडीलाई तयारीमा राखेको छु । यसलाई एक्सपोज गरेर लैजान राज्यले यो विधालाई पनि प्राथमिकता दिनुपर्ने आवश्यक भइसकेको छ ।

(नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ ।)

प्रतिक्रिया दिनुहोस्