शिक्षकले नै गरे विद्यालय बन्द



डोटी, (नेस)  । 

डोटीको जोरायल गाउँपालिमा रहेका विद्यालयहरुका लेखापाल र परिचरले तोकिएको तलब नपाएको भन्दै शिक्षकहरुले मंगलबारदेखि पालिकाभरिका विद्यालय अनिश्चितकालका लागि बन्द गरेका छन् । शिक्षक संघर्ष समितिले आफ्नो माग पूरा नभएसम्म विद्यालयमा तथा गाउँपालिकामा तालाबन्दी गर्ने निर्णय गरेसँगै विद्यालयमा पठनपाठन बन्द भएका हुन् ।

संघीय सरकारबाट छुट्याएको १५ हजार तलब गाउँपालिकाले नदिएको भन्दै उनीहरूले आफ्नो माग पूरा नभएसम्म विद्यालय सञ्चालन नगर्ने भनी पठनपाठन पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको संघर्ष सतितिका अध्यक्ष तथा शिक्षक प्रकाश थापाले बताउनुभयो । ‘साथीहरुले तलब पाएका छैनन्, तलब पाउनका लागि बाध्य भएर पढाइसहित बिद्यालय बन्द गरेका छौं, हाम्रो माग चाँडो सुनुवाइ होस् ।’ –उहाँले भन्नुभयो ।केन्द्रबाट छुट्याएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दा समेत जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएकाले आफूहरूले बन्द गर्ने निर्णय गरेको आन्दोलनरत शिक्षकहरुले बताएका छन् ।

गाउँपालिकासँग पटक–पटक छलफल गर्दा तलबका लागि स्रोत नभएको र जतिसक्दो चाडो स्रोत जुटाएर तलब दिने आश्वासन मात्र दिएका कारण बाध्य भएर पठनपाठनमा अवरोध गर्नुपरेको नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तथा जोरायल शिक्षक महासंघका सहअध्यक्ष उमेशकुमार साउदले बताउनुभयो । उहाँ थप्नुहुन्छ– ‘हामीले पढाएको पैसासमेत मिल्दैन भने पढाएर के काम, तोकिएको तलब नदिएसम्म पढाइ पूर्णरूपमा बन्द हुन्छ ।’

केन्द्रबाट छुट्याएको तलबमा कर्मचारीहरुको तलब सामान्यतया १५ हजार पु¥याउने लक्ष्य रहेकोमा केन्द्रबाट ८ हजार र गाउँपालिकाले ७ हजार थपेर १५ हजार पु-याइएको जोरायल गाउँपालिका शिक्षा अधिकारी तेजबहादुर खत्री बताउनुभयो । ‘हामीले सके जति तलब दिएकै थियौं, पालिकाले थप बजेट विनियोजन नगरेकाले केही समस्या भएको हो तर लेखापाल र परिचरको तलबका बारेमा छलफल भइरहेको छ ।’ –उहाँको भनाइ छ ।

कोरोना महामारीका कारण महिनौंपछि विद्यालय खोलिएका भए पनि लेखापाल र परिचरको तलबका कारण पुनः विद्यालयमा पठनपाठन अवरुद्ध भएपछि विद्यार्थी निरास भएका छन् ।

प्रतिक्रिया दिनुहोस्