मविरुद्ध षड्यन्त्र भएको छ : उपसभापति गच्छदार



काठमाडौं, (नेस) ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि गुमनाम बसेका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले बुधबार आफूविरुद्ध षड्यन्त्र भएको आरोप लगाउनुभएको छ ।

गच्छदारले बुधबार तीनकुनेको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो राजनीतिक र सामाजिक जीवन नै ध्वस्त बनाउने षड्यन्त्रस्वरूप आफूमाथि बालुवाटार जग्गा प्रकरणको मुद्दा लगाइएको जिकिर गर्नुभयो । बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै गच्छदारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेको र अख्तियारले पनि ओली सरकारको छायाँका रूपमा काम गरेको आरोप लगाउनुभएको थियो । उहाँले स्वतन्त्र संवैधानिक आयोगका रूपमा रहेको अख्तियारले निष्पक्ष काम गर्न नसकेको दाबी गर्दै अख्तियारले छानी–छानी मुद्दा चलाउने काम गरेको पनि आरोप पनि लगाउनुभयो । ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पेस मात्र गरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘अख्तियारले उन्मुक्ति दिन नपर्नेलाई उन्मुक्ति दिएको छ, राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको छ ।’

आफूले व्यक्तिगतरूपमा लाभ लिएर नेपाल सरकारलाई हानि पुर्‍याएको अवस्था नभएको दाबी गर्दै गच्छदारले भन्नुभयो– ‘मेरो राजनीतिक भविष्य समाप्त पार्ने षड्यन्त्र भएको छ ।’

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा बयान दिन गत असार ३० गते हाजिर भएका गच्छदारलाई विशेष अदालतले १० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । भ्रष्टाचार मुद्दा लागेसँगै गच्छदारको सांसद पद निलम्बनमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्