बार्सिलोना हारबाट जोगियो



मेड्रिड, (एजेन्सी) ।

खेलको अन्तिममा उरुग्वेयन सेन्टर डिफेन्डर रोनाल्ड एराउजोले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।

घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलको सुरुआतमै ग्रानाडाले गोल गरेपछि बार्सिलोना दबाबमा देखिएको थियो । खेलको दोस्रो मिनेटमै डोमिङओस डुअर्टीले हेड गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले सर्जियो स्कुडेरोको पासमा गोल गरेका थिए । ग्रानाडाको अग्रतापछि आक्रामक बनेको बार्सिलोनाले पहिलो हाफमा गोल फर्काउने राम्रा अवसर खेर फालेको थियो ।

खेलको १९औं मिनेटमा सर्जी रोवर्टोको प्रहार बाहिरियो । ३६औं मिनेटमा मेम्फिस डिपाएको फ्रिकिक प्रहारलाई ग्रानाडाका गोलरकिपरले सजिलै विफल पारे । ४५औं मिनेटमा रोनाल्ड एराउजोको पोस्ट छेउको हेड प्रहारमा ग्रानाडाका गोलकिपर लुईस म्याक्सीमिनो बाधक बनेका थिए ।

खेलको ९०औं मिनेटमा रोनाल्ड एराउजोले उत्कृष्ट हेड गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । २२ वर्षीय रोनाल्डले पाब्लो गाभिराको पासमा गोल गरेका थिए । बार्सिलोनाका स्ट्राईकर मेम्फिस डिपाए, फिलिप कोउटिन्हो र विङ्गर युसुफ डेमिरलाई ग्रानाडाका डिफेन्डरले खासै चल्न दिएनन् । सुरुआती अग्रतापछि डिफेन्स लाइन बलियो बनाएको ग्रानाडा अन्तिममा पुगेर अंक बाँड्न बाध्य भयो । बार्सिलोनाका रोनाल्ड एराउजो ‘म्यान अफ दी म्याच’ घोषित भए । बराबरीसँगै बार्सिलोनाले चार खेलमा दुई जित र दुई बराबरी नतिजा निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्