पीएसजीद्वारा लियोन पराजित



French League One soccer

पेरिस, (एजेन्सी) ।

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनलाई पराजित गर्दै लगातार छैटौँ जित दर्ता गरेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले लियोनमाथि २–१ गोलअन्तरको पुनरागमन जित निकालेको हो । पीएसजीको जितमा नेयमार र मोउरो इकार्डीले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । पार्क डेस प्रिन्सेस पेरिसमा भएको खेलको ५४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट लियोनले अग्रता लिन सफल भएको थियो ।

उनले कार्ल टोको इकाम्बीको पासमा गोल गरेका थिए । खेलको ६६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पीएसजी खेलमा फर्कियो । पेनाल्टी बक्समा मालो गुट्सोले नेयमारलाई अनावश्यक फाउल गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टीको अवसर दिएको थियो । जसमा नेयमारले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएको थियो ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई पुनरागमन जित दिलाए । ८२औं मिनेटमा एन्जल डी मारियाको स्थानमा मैदान छिरेका इकार्डीले क्लियन एमबाप्पेको पासमा गोल गरेका थिए । यो जितपछि लगातार छैटौं खेलमा जित निकालेको पीएसजीको १८ अंक पुगेको छ । पराजित लियोनको भने ८ अंक मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्