लिभरपुलको प्रभावशाली जित



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नयाँ सिजनको पाँचौं खेलमा प्रभावशाली जित निकालेको छ ।

शनिबार राति आफ्नो घरेलु मैदान एनफिल्ड रंगशालामा भएको खेलमा लिभरपुलले पाहुना टोली क्रिस्टल प्यालेसमाथि ३–० गोलअन्तरको एकपक्षीय जित निकालेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जिताउन तीन जना खेलाडीले एक–एक गोल गरे । पहिलो गोल खेलको ४३औं मिनेटमा साडियो मानेले गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो गोल खेलको ७८औं मिनेटमा मोहमद सालाहले गरे । फ्रि किकबाट आएको बलामा भर्जिल भान डाइकले सालाहको गोलमा असिस्ट प्रदान गरेका थिए ।

त्यसपछि, खेलको अन्तिम समय ८९औं मिनेटमा मिडफिल्डर नाबी केइटाले अर्को गोल थपेपछि खेल लिभरपुलले ३–० ले जित्यो । अब यो जितका साथ लिभरपुलले ५ खेलपछि १३ अंक जोडेको छ ।

शनिबारै भएको अर्को खेलमा म्यानचेस्टर सिटी भने आफ्नै घरेलु मैदानमा साउथह्यामपटनसँग निराशाजनक गोलरहित बराबरीमा रोकिन बाध्य भयो । आफ्नै घरेलु मैदानमा सिटीले ९० मिनेट र त्यसपछिको आठ मिनेटसम्म खेल्दा पनि एक गोल पनि गर्न नसक्दा आफ्नै घरमा अंक बाँड्न बाध्य भयो ।

यससँगै सिटीको अब ५ खेलपछि मात्रै १० अंक भएको छ । सिटीले तीन खेल जितेर एक खेल बराबरी गरेको छ भने एक खेल हारेको छ । उक्त खेलमा रहिम स्टर्लिङले इन्जुरी समयमा गरेको गोल भीएआरले अफसाइड साबित गर्दै रद्द गरिदिँदा सिटी जितबाट चुकेको थियो ।
त्यस्तै, लन्डन क्लब आर्सेनलले पनि इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गर्‍यो । यसै सिजन रियल मेड्रिडबाट स्थायीरूपमा अनुबन्ध भएका नर्वेजियन मार्टिन ओडेगार्डको गोल मद्दतमा आर्सेनलले घरेलु टोली बर्नलेमाथि १–० को साँघुरो जित दर्ता गरेको हो । शुरुआती तीन खेल गुमाएपछि आर्सेनलको यो लगातार दोस्रो जित हो । आर्सेनलले यसअघि नर्विच सिटीलाई १–० ले पराजित गरेको थियो । त्यसअघि, आर्सेनलले ब्रेन्टफर्ड, चेल्सी र म्यानचेस्टर सिटीसँग हार बेहोरेको थियो ।

टर्फ मुरमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा मार्टिन ओडेगार्डले गरेको गोल नै आर्सेनलको जितमा निर्णायक बन्यो । उनले ३०औं मिनेटमा फ्रिकिकमा सिधै गोल गरेका थिए । दुवै टोलीले खेलमा केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । लगातार दोस्रो जितसँगै आर्सेनल ५ खेलबाट ६ अंक जोडेको छ । त्यस्तै, पराजित बर्नलेको एक अंक मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्