बायर्न म्युनिखको गोलवर्षा



बर्लिन, (एजेन्सी) ।

बायर्न म्युनिखले घरेलु लिग बुन्डेसलिगामा गोलको वर्षा गरेको छ ।

शनिबार राति भएको नयाँ सिजनको पाँचौं खेलमा बायर्नले आफ्नो घरेलु मैदानमा पाहुना टोली भीएफएल बोचुमलाई ७–० को फराकिलो गोलअन्तरमा स्तब्ध बनाएको हो । यस वर्षको बालोन डी ओर अवार्डका एक प्रमुख दाबेदार फरवार्ड रोबर्ट लेबान्डोस्कीले क्लब बार्यन म्युनिखका लागि लगातार १९औं खेलमा पनि गोल गर्न सफल भए ।

पोल्यान्डका फरवार्ड लेवान्डोस्कीले शनिबारको खेलमा गोल गरेसँगै उनले बायर्नका लागि सबैखाले प्रतियोगिताबाट लगातार १९ खेलमा गोल गर्न सफल भएका छन् । साथै, उनले बुन्डेसलिगामा लगातार १३औं खेलमा गोल गरेका छन् । शनिबारको खेलमा उनी ६१औं मिनेटमा गोल गरेर खेलको ६८औं मिनेटमा सब्सिच्युट भएका थिए । बोचुम यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको टोली हो । बार्यनका घरमा पाहुना टोली बनेर जाँदा बोचुमले सात गोलको सामना गर्नुपरेको हो ।

बायर्नका लागि खेलको १७औं मिनेटमा जर्मन खेलाडी लिरोए सानेले फ्री किकमार्फत् सोझै सानदार गोल गरेर गोलको खाता खोलेका थिए । त्यसपछि, जोसुवा किमिकले खेलको २७औं मिनेटमा गोल गरेर अग्रता बढाउँदा ३२औं मिनेटमा सर्जी गेनाब्रीले गोल गरेर खेल ३–० बनाए । त्यसपछि ४३औं मिनेटमा बायर्नले एक गोल उपहारमा पाएपछि पहिलो हाफमा घरेलु टोलीले ४–० को सुविधाजनक अग्रता बनायो ।

त्यसपछि, दोस्रो हाफमा पनि बायर्नले तीन गोल थप्यो भने थोमस मुलरले ८९औं मिनेटमा गरेको गोल रद्द भयो । दोस्रो हाफ शुरू भएपछि ६१औं मिनेटमा लेवान्डोस्कीले गोल गरे भने ६५औं मिनेटमा जोसुवा किमिकले व्यक्तिगत दोस्रो गोल गरेर खेल ६–० बनाए । त्यसपछि ७९औं मिनेटमा इरिक म्याक्सिमले गोल गरेपछि खेल बायर्नले ७–० ले जित्न सफल भयो । यो जितका साथ बायर्नले यो सिजन चौथो जित दर्ता गरेको छ । ५ खेल सकिँदा बायर्नको १३ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्