सरकारद्वारा १२ खेलकर्मी विभूषित



काठमाडौं, (नेस) ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ्गसहित १२ जना खेलकर्मीलाई नेपाल सरकारले सुप्रबल जनसेवा श्रीबाट विभूषित गरेका छन् ।

नेपाल सरकारले हरेक वर्ष विभिन्न क्षेत्रबाट राष्ट्रिय हित र सम्मानका लागि योगदान गर्ने व्यक्तिहरूलाई जनसेवा श्रीबाट विभूषित गर्दै आएको छ । सोहीअनुरूप सरकारले आइतबार संविधान दिवसको अवसरमा यस वर्ष खेलकुद क्षेत्रबाट १२ जना खेलकर्मीलाई विभूषित गरेको हो ।

ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङसहित जनसेवा श्रीबाट विभूषित हुनेमा तेक्वान्दोकी खेलाडी आयशा शाक्य र तेक्वान्दोको कोरियन प्रशिक्षक क्वोन युङ्ग दल रहेका छन् । यसै विभूषणबाट विभूषित हुनेमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, अपाङ्गता भएका खेलाडी हिमाल अर्याल र केशव थापा रहेका छन् ।

यसबाहेक सरकारले दिने सुकीर्ति पदक पाउनेमा कराते खेलाडी अनु अधिकारी, ब्याडमिन्टनका पूर्वखेलाडी तथा अन्तर्राष्ट्रिय अम्पायर दीपक थापा, तेक्वान्दो प्रशिक्षक नर्बु लामा, पावर लिफ्टिङ खेलाडी प्रकाश केसी र खेल आयोजक उत्तम न्यौपाने रहेका छन् ।

सरकारले हरेक वर्ष असोज ३ गते संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रबाट राष्ट्रलाई योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई विभिन्न मानपदवी र विभूषण प्रदान गर्दै आएको छ । सरकारले यस वर्ष विभिन्न क्षेत्रबाट ९ सय ३ जनालाई मानपदवी र विभूषणबाट विभूषित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्